नेप्से साढे १९ अंकले घट्यो, चार कम्पनीमा सर्किट

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक सूचक नेप्से १९.४२ अंकले घटेको छ । घटेको बजारमा तीन कम्पनीमा सकारात्मक सर्किट लागेर बढ्दा र एक कम्पनीको मूल्य भने नकारात्मक सर्किट लागेर घटेको हो ।

नेप्से परिसूचकमा बिहीबार ४४.३४ अङ्कको उत्साहजनक वृद्धि आएको भएपनि आइतबार नै उच्च वृद्धि टिक्न सकेन । आजको कारोबारमा नेप्से परिसूचक १९.४२ अङ्कले घटेर २०१० दशमलव ३५ अङ्कमा कायम भएको छ । ठूला कम्पनीहरूको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले घटेर ३८५.६२ विन्दुमा झरेको छ ।

आज विभिन्न २८५ कम्पनीका ९० लाख ३० हजार ९४१ कित्ता सेयर ८१ हजार १० पटक खरिद बिक्री हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३ अर्ब २९ करोड ३९ लाख बराबरको कारोबार भएकोमा ९६ करोड ७१ लाख रुपैयाँले घटेको हो ।

आजको कारोबारमा लघुवित्त बाहेक सबै १२ वटै उपसमूहगत सूचकमा रातो पोतिएको छ । लघुवित्त ०.९९ प्रतिशत अर्थात ३६.३६ अंकले बढेको छ । जलविद्युत र ब्यापार सर्वाधिक १.८१ प्रतिशतले घटेका छन् । विकास बैंक, फाइनान्स, होटल, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, निर्जीवन बीमा र अन्यको इन्डेक्स पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।

लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर रहेको छ । यसैगरी थ्रीस्टार हाइड्रोपावर ९.७३ प्रतिशत, अपर स्याङ्गे ४.७३ प्रतिशत, नेष्डो समृद्धि लघुवित्त ४.७२ प्रतिशत, नेशनल लघुवित्त ४.३२ प्रतिशत र जाल्पा लघुवित्तको मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ । गणपति लघुवित्त र उन्नति सहकार्य लघुवित्तको ३ प्रतिशतभन्दा बढी बढेको छ ।

आजको बजारमा शुभम् पावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । धेरै गुमाएको यस कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात १०५ रुपैयाँ घटेर ९४५ रुपैयाँमा झरेको हो । यस्तै नबिल ब्यालेन्सड फन्ड—२ को इकाई ५.४५ प्रतिशत, मायाखोला हाइड्रोपावरको ५.३७ प्रतिशत, न्यादी हाइड्रोपावरको ५.२९ प्रतिशत र पिपल्स हाइड्रोपावरको सेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार बुकक्लोज गर्न लागेको माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको सबैभन्दा धेरै १३ करोड २४ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ९ करोड ७३ लाख ६१ हजार, शिवम् सिमेन्टुको ९ करोड १२ लाख ९६ हजार, एनआईसी एशिया बैंकको ८ करोड ७५ लाख ५१ हजार र हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ६९ लाख ९८ हजारको सेयर किनबेच भएको छ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख ७१ हजार ७६० कित्ता सेयर किनबेच भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स १७ हजार ९४८ वटा सहित कारोबार संख्याका आधारमा अगाडि छ ।

आइतबारको बजार घटाईपछि कुल बजार पुँजीकरण घटेर ३० खर्ब ४४ अर्ब ७१ करोड २० लाख ६७ हजारमा समेटिएको छ । बिहीबारको तुलनामा बजार पुँजीकरण १४ अर्ब ३८ करोड रुपैयाँ कम हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।