कर्मचारीको सेयर बाडँफाँडमा हुने अनियमितता हेर्न समिति, दीर्घकालिन समाधान खोज्दै बोर्ड

0
Shares

नेपाल धितोपत्र बोर्डले कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँडमा हुने अनियमितता अध्ययन गर्न समिति गठन गरेको छ । पछिल्लो समयमा केही कम्पनीहरुले कर्मचारीको सेयरमा संस्थाका उच्च अधिकारीहरुले मनमौजी गरेको उजुरी आएपछि बोर्डले समिति गठन गरेर दीर्घकालिन समाधान खोज्न लागेको हो ।

कर्मचारीलाई सेयर दिने व्यवस्था अनुसार सबै कम्पनीले साधारण सेयर निष्कासन गर्दा कर्मचारीलाई पनि दिँदै आएका छ । यसरी कर्मचारीलाई दिने सेयरमा निष्कासनकर्ता कम्पनीका उच्च व्यवस्थापनको मनमौजी चल्ने गरेको भएपनि बाहिर आएको थिएन । धितोपत्र बोर्डले पनि कर्मचारीको सेयर संस्थाले नै मिलाउने भन्दै आएको थियो ।

बोर्डमा अनौपचारिक (मौखिम) उजुरी कर्मचारीको सेयरमा हुने अनियमितताको विषयमा आउने गरेको बोर्डका एक अधिकारीले बताए । लिखित उजुरी नआएको हुनाले बोर्डले उक्त विषयमा खासै नबोलेको ती अधिकारीको भनाई छ ।  पछिल्लो समयमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारीको सेयरका विषयमा उच्च व्यवस्थापनले मनमौजी गरेको उजुरी आएपछि समिति नै गठन गरेर बोर्ड अघि बढेको उनले जानकारी दिए । बोर्डले भदौको तेस्रो साता निर्देशक रन्जना थकुलावाटको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो ।

“कर्मचारीको सेयर विवादको सन्दर्भमा बनेको उक्त समितिले कुनै एक संस्थाको मात्र नभई आगामी दिनमा आउन सक्ने सोही प्रकृतिका समस्यालाई समेत सुल्झाउने गरी काम सुरु गरेको छ,” ती अधिकारीले भने, “सन नेपाल लाइफ इन्स्योरेन्सको सन्दर्भमा आवश्यक कागजात माग गरिएको छ ।” समितिको पहिलो बैठकले नै उजुरी आएको कम्पनीको विवरण माग गरेर अध्ययन गर्ने निर्णय गरेको ती अधिकारीले बताए । सन नेपाल लाइफको उजुरी नै आएको भएपनि यस्तो समस्या अन्य कम्पनीहरुको सन्दर्भमा पनि रहने गरेको हुनाले दीर्घकालिन समाधान ल्याउने गरी समितिले काम अघि बढाएको उनको भनाई छ ।

कानुनमा कर्मचारीको सेयर सम्बन्धी व्यवस्था

धितोपत्र ऐन २०६३ को दफा ३० को उपदफा ३ ले कर्मचारीको सेयर सम्बन्धी विवरणपत्र प्रकासित गर्नु नपर्ने भनेर मात्र उल्लेख छ । तर, दर्ता तथा निष्कासन नियमावलीको २०७३ नियम ४६ को उपनियम ६ मा निष्कासनकर्ता संगठित संस्थाले सर्वसाधारणलाई छुट्टयाएको सेयरमध्ये पाँच प्रतिशतसम्म सेयर धितोपत्र निष्काशन निर्देशिकामा तोकिए बमोजिम संस्थामा कार्यरत कर्मचारीको लागि छुट्टयाई बाँडफाँड गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

त्यसैगरी धितोपत्र दर्ता तथा निष्कासन निर्देशिका २०७४ अनुसार प्रचलित कानूनले विशेष व्यवस्था गरेकोका बाहेक सङ्गठित संस्थाले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये बढीमा पाँच प्रतिशतसम्म संस्थामा कार्यरत करार र ज्यालादारी कर्मचारी बाहेकका कर्मचारीलाई छुट्याउन सक्नेछ । संस्थामा कार्यरत रहेको कर्मचारी संख्याको आधारमा सेयर छुट्याउनु पर्छ । सङ्गठित संस्थाले सार्वजनिक निष्काशन गर्न अगावै संस्थामा कार्यरत कर्मचारीका लागि सेयर निष्काशन गरिसकेको भएमा वा प्रबन्धपत्र तथा नियमावलीमा विशेष व्यवस्था गरी कर्मचारीका लागि छुट्टै सेयर जारी गर्न सक्ने व्यवस्था भएमा सार्वजनिक निष्काशनका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरबाट कर्मचारीलाई बाँडफाँड गर्न पाईने छैन ।

निर्देशिका अनुसार नियमावलीको व्यवस्था बमोजिम कर्मचारी वा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वा प्रचलित कानून बमोजिम मान्यता प्राप्त गरेको सामुहिक लगानी कोषलाई कुनै धितोपत्र सुरक्षित गरिएको अवस्थामा त्यस्तो धितोपत्रको बाँडफाँडको ढाँचा सम्बन्धित सङ्गठित संस्था तथा निष्काशन तथा बिक्री प्रबन्धकले तयार गरी बाँडफाँड गर्नु अगावै बोर्डलाई जानकारी गराउनुपर्नेछ । निर्देशिकामा यस्तो व्यवस्था भएपनि निष्कासनकर्ता कम्पनीको उच्च व्यवस्थापनले सञ्चालक समितिको निर्णय मात्र बुझाउने गरेका छन् ।

निष्काशनकर्ता सङ्गठित संस्थाले विवरणपत्र अनुसार सो संस्थामा कार्यरत कर्मचारीलाई धितोपत्र सुरक्षित राखी धितोपत्र बाँडफाँड गरिएको अवस्थामा सम्बन्धित कर्मचारीले त्यस्तो धितोपत्र कम्तिमा तीन वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था गर्नुपर्नेछ । सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई छुट्याएको धितोपत्र सम्बन्धित सङ्गठित संस्थाको सञ्चालक समितिले औचित्यपूर्ण तवरबाट बाँडफाँड गर्ने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख भएपनि सो अनुसार नहुने गरेको गुनासो आउने गरेको हो ।

सङ्गठित संस्थाले धितोपत्र बाँडफाँडको आधार तथा बाँडफाँड सम्बन्धी विस्तृत विवरण बाँडफाँड भएको सात दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धक मार्फत धितोपत्र बोर्डलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । निर्देशिकामा भएको सो व्यवस्था अनुसार कम्पनीहरुले काम गरेको पाइँदैन । बोर्डले गठन गरेको समितिले कर्मचारीको सेयरका सन्दर्भमा आगामी दिनमा आउनसक्ने विवादलाई समेत सम्बोधन गर्ने गरी काम गर्ने तयारीमा रहेको बोर्डका ती अधिकारीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।