नेप्सेको वृद्धि टिकेन, सेयर बजार पुनः ओरालोतर्फ

0
Shares

सेयर बजारमा कायम एक ग्राहक कर्जा सीमा बढ्ने हल्लै हल्लाका आधारमा बढेको सयर बजार बुधबार पुनः घटेको छ । दुई दिनको गिरावटपछि मंगलबार १८ अंकले बढेको बजार बुधबार नै सोही अंक हाराहारीमा नै घटेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८.६० अंकले घटेर २००४ दशलमव ३० को विन्दुमा बन्द भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२९ अंकले घटेर ३८२.९४ बिन्दुमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लागू १२ करोडको सीमा खुकुलो बनाउने चर्चासँगै मंगलबार सेयर बजार १८.४५ अंकले बढेको थियो । बुधबार भने मंगलबार बढेको अंक सरह बजारमा करेक्सन आएको छ । राष्ट्र बैंकको बुधबारको सञ्चालक समिति बैठकमा सेयर बजारको १२ करोडको सीमाबारे छलफल हुने र गभर्नर लचिलो हुनसक्ने संकेतपछि मंगलबार बजार बढेको थियो । तर बुधबार उक्त सीमाबोकुनै छलफल नभएपछि बजार घटेको हो ।

आज कारोबारमा आएका २८२ कम्पनीमध्ये आज ६० कम्पनीको सेयर मुल्य बढेको छ भने २१२ कम्पनीको सेयर मुल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । आज कारोबारमा आएका सबै १३ वटै उपसमुहगत सूचक घटेका छन् । जलविद्युत, विकास बैंक, फाइनान्स लगानी, अन्यको इन्सेक्स १ प्रतिशतभन्दा धेरै घटेको छ ।

आज सेयर बजारमा २८२ कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर ५८ हजार ३८७ वटा संख्यामा किनबेच भएको छ । बुधबार कारोबार रकम १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार २८६ कम्पनीका ८७ लाख ४ हजार कित्ता सेयर २ अर्ब ९ करोड ३८ लाखमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम २८ करोडले घटेको हो ।

सन नेपाल लाइफ इन्स्इोरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । आज कम्पनीको ७ करोड ६२ लाख २३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।त्यस्तै, एनआइसी एशियाको ६ करोड १९ लाख, रिलायबल नेपाल लाइफको ५ करोड ८४ लाख, शिवम् सिमेन्ट ५ करोड ७९ लाख र नागरिक लगानी कोषको ५ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको ३ लाख ८१ हजार ५४८ इकाई किनबेच भएको छ । कारोबार संख्याका आधारमा शीर्ष स्थानमा रहेको सन नेपाल लाइफको ६ हजार ७९१ वटा रहेको छ ।

मनकामना इन्जिनियरिङका लगानीकर्ताले बुधबारको बजारबाट सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले बढेर २७२ रुपैयाँ पुगेको हो । यसैगरी एशियन हाइड्रोका लगानीकर्ताले ७.९१, मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ७.६०, अपर लोहोरेखोला जलविद्युत ६.५५ र सिद्धार्थ ग्रोथ स्कीम–२ का लगानीकर्ताल ५.७५ प्रतिशतका दरले कमाएका छन् ।

बुधबारको बजारमा लक्ष्मी भ्यालु फन्ड–२ का इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन् । फन्डको इकाइमूल्य १० प्रतिशतले घटेर ८ रुपैयाँ ६५ पैसामा झरेको छ । यस्तै शुभम् पावर लिमिटेडको ९.९९ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ७.६३ पिपुल्स हाइड्रोपावर ६.६७, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.९४ प्रतिशतका दरले गुमाएका छन् ।

बुधबारको कारोारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ३८ अर्ब ६९ करोड ४० लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन मंगलबार बजार पुँजीकरण ३० खर्ब ६६ अर्ब ९० करोड २१ लाख रुपैयाँ थियो । बुधबारमात्रै २८ खर्ब २१ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

अब सेयर बजार आइतबार मात्रै खुल्नेछ । इन्द्रजात्रा पर्वको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएसँगै भोलि बिहीबार सेयर बजार बन्द रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।