सात दिनभित्र सडक बत्तीको बक्यौता महसुल भुक्तानी र मिटर जडान गर्न प्राधिकरणको निर्देशन


नेपाल विद्युत् प्राधिकरणले पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न सात दिनको समय दिएको छ ।

प्राधिकरणले यसअघि असोज ६ गते बक्यौता महशुल भुक्तानी गर्न पालिकालाई ४५ दिनको समयसीमा दिएको थियो । तर महशुल भुक्तानी नभएको भन्दै प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज पुन अर्को सूचना जारी गरेको हो ।

जारी सूचनामा केन्द्रहरुबाट पालिकाले सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न र बिना मिटर प्रयोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न भनेको छ । मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरुका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी ७ दिनभित्र मिटर जडान गरी ग्राहक कायम गराउन निर्देशन दिएको छ ।

यो अवधिभित्र मिटर लिइ ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरु सम्बन्धित वितरण केन्द्रबाट हटाउने सूचनामा भनिएको छ । साथै सडक बत्तीको बक्यौता महशुल नबुझाउने पालिकाको हकमा प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार कारबाही हुने प्रधिकरणले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।