सूचिकरण नभए फेसबुक टुइटर (एक्स) जस्ता सामाजिक सञ्जाल नचल्ने, नेपालमा सम्पर्क विन्दु अनिवार्य

0
Shares

सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले नेपालमा पनि सम्पर्क विन्दु राख्नु पर्ने व्यवस्था गरेको छ। सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउन सूचिकरण, सम्पर्क विन्दु, प्रयोगकर्ताले गर्न नहुने कार्यलाई नियमन गर्न लागेको हो ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक २०८० बनाई राजपत्रमा प्रकासीत गरेको छ । निर्देशिका अनुसार समाजिक सञ्जाललाई नियमान तथा व्यवस्थित बनाउन सम्बद्ध निकायहरुको जिम्मेबारी समेत तोकिएको छ । त्यसैगरी निर्देशिका विपरीत सामाजिक सञ्जालमा सम्प्रेषण गरेको सामग्रीको पहिचान गर्ने तथा त्यस्ता सामग्री निश्चित अवधिका लागि वा पूर्णरूपले निष्क्रिय बनाउने सम्मको व्यवस्था निर्देशिकाले गरेको छ ।

निर्देशिका अनुसार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नु पर्छ । सूचीकरण गर्ने प्रयोजनको लागि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गर्नेछ । निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म यो निर्देशिका प्रारम्भ भएको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकृत हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

सूचिकरणका लागि मन्त्रालयमा निवेदन दिदाँ सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले आफैं उपस्थित भई वा आफ्नो प्रतिनिधि मार्फत दिन सक्नेछन् । त्यस्तो निवेदन अनलाइन माध्यमबाट समेत दिन सकिने व्यवस्था निर्देशिकामा छ । मन्त्रालयले प्राप्त निवेदन जाँचबुझ गर्दा विवरण मनासिव देखिएमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थालाई अनुसूची २ बमोजिमको ढाँचामा सूचीकरण गरेको निस्सा प्रदान गर्नु गर्नेछ ।

तर, सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ । तर नागरिक शिक्षा तथा सामाजिक सशक्तीकरणमा मात्र केन्द्रित भई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई यो प्रावधान लागू हुने छैन । सूचीकृत सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक तीन वर्षमा विवरण अद्यावधिक गराउनु पर्ने व्यवस्था समेत निर्देशिकामा उल्लेख छ ।

सञ्चार मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सम्बद्ध निकाय तथा अन्य सरोकारवाला निकायबीच समन्वय कायम गर्ने तथा सचेतनामूलक, क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, गराउने काम गर्नेछ । त्यसैगरी सामाजिक सञ्जाल व्यवस्थापन इकाइलाई स्रोत साधनयुक्त बनाउने तथा सामाजिक सञ्जालको व्यवस्थित प्रयोगका सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने काम गर्नेछ ।

नेपालभित्र सञ्चालनमा रहेका रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रयोगकर्ताको संख्याका आधारमा वर्गिाकरण हुने व्यवस्था निर्देशिकाले गरेको छ । निर्देशिका अनुसार एक लाखभन्दा कम प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई साना र सो भन्दा धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई ठूलाको रुपमा वर्गिकरण गर्नेछ ।

त्यसैगरी सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन गर्ने प्रयोजनको लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क बिन्दु (पोइन्ट अफ कन्ट्याक्ट) को व्यवस्था गर्नु पर्नेछ । सामाजिक सञ्जाल प्लेटफर्मले सम्पर्क विन्दुमा अनिवार्य रूपले आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नु पर्नेछ । सम्पर्क बिन्दुको ठेगाना परिवर्तन हुँदा वा गुनासो सुन्ने अधिकारी परिवर्तन हुँदा सोको सूचना सामाजिक सञ्जाल व्यवस्थापन इकाइलाई दिनु पर्नेछ । नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले तीन महिनाभित्र कार्यालय स्थापना गर्न वा सम्पर्क व्यक्ति तोक्नु पर्ने व्यवस्था निर्देशिकामा छ ।

सम्पर्क बिन्दुले निर्देशिका विपरीत सामाजिक सञ्जालमा सम्प्रेषण गरेको सामग्रीको पहिचान गर्ने, त्यस्ता सामग्री निश्चित अवधिका लागि वा पूर्णरूपले निष्क्रिय बनाई सामाजिक सञ्जाल व्यवस्थापन इकाइ र सम्बद्ध निकायलाई जानकारी दिने काम गर्नेछ । आफू सम्बद्ध सामाजिक सञ्जालको सदुपयोग सम्बन्धमा समय समयमा सार्वजनिक जानकारी गराउने काम गर्नेछ । त्यसैगरी मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थापन इकाइको गठन गर्ने व्यवस्था गरेको छ । उक्त इकाइले पुर्ण रुपमा सामाजिक सञ्जालको नियमन गर्नेछ ।

निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताले बेनामी वा छद्मवेशी पहिचान (फेक आइडी, पेज, ग्रुप) सिर्जना गर्ने हुदैन । बेनामी वा छद्मवेशी पहिचान मार्फत विषयवस्तु उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु सेयर गर्ने वा टिप्पणी गर्ने वा कल गर्ने काम गर्न हुदैन । कुनै व्यक्ति, समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसङ्ख्यक, भाषाभाषी तथा कानूनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने काम गर्नु हुनै छैन । सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य, दृश्य, तस्विर सेयर गर्ने तथा ट्रोल बनाई प्रकाशन र प्रसारण गर्ने काम समेत प्रयोग कर्ताले गर्न पाउने छैनन ।

त्यसैगरी बालश्रम, बालविवाह, मानव बेचविखन, जातीय छुवाछुत बहुविवाह, लगायतका प्रचलित कानूनले वर्जित गरेको क्रियाकलाप गर्न प्रोत्साहन गर्न हुने छैन । होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्विर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्ने वा हेट स्पीच मानिने कार्य गर्ने, सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर सम्पादन, प्रकाशन र प्रसारण गर्ने नपाइने व्यवसथा निर्देशिकाले गरेको छ ।

त्यसैगरी अश्लील शब्द, तस्विर, अडियो, भिडियो एनिमेसन प्रकाशन, प्रसारण वा सोको समर्थनमा कमेन्ट गर्ने, बालबालिकालाई हानी पु–याउने सामग्री तथा बाल यौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार, मिथ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड गरी प्रकाशन वा प्रसारण गर्ने समेत रोक लगाएको छ । लागू औषध सेवन तथा कारोवार गर्न प्रोत्साहन गर्ने, जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्ने, आतङ्कवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्ने, वैयक्तिक गोपनीयता भङ्ग गर्ने लगायतका कार्य सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न पाउने छैनन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।