राठी र गोयल ग्रुपको लगानी रहेको मारुती सिमेन्टको आम्दानीमा गिरावट

0
Shares

व्यापारिक घराना राठी ग्रुप र गोयल ग्रुपको संयुक्त लगानी रहेको मारुती सिमेन्ट उद्योगको सञ्चालन आम्दानीमा गिरावट आएको छ ।

आर्थिक वर्ष २०२२ मा ५ अर्ब ५ करोड सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२३ मा १४ प्रतिशतले घटेर ४ अर्ब ३३ करोडमा खुम्चिएको छ ।

कम्पनीको सञ्चालन आम्दानीमा आएको गिरावटसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत गिरावट आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०२२ मा कुल सञ्चालन आम्दानीको १३.२७ प्रतिशत थियो भने आव २०२३ मा सो नाफा ३.९१ प्रतिशत विन्दुले घटेर ९.३६ प्रतिशत पुगेको हो ।

सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट उद्योगलाई सन् २००५ मा हालको व्यवस्थापन (राठी र गोयल ग्रुप)ले अधिग्रहण गरेको थियो । प्रतिदिन २० हजार मेट्रिक टन सिमेन्ट उत्पादन र १ हजार ५०० मेट्रिक टन क्लिंकर उत्पादन क्षमता रहेको उद्योगले क्षमता बिस्तारको काम अघि सारेको छ । प्रति दिन १८ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने उद्देश्य राखेको कम्पनीले क्षमता बिस्तारका लागि कर्जा लिने भएको छ ।

कम्पनीले ५ अर्ब ५५ करोड ६५ लाख बराबरको कर्जाका लागि साख मूल्यांकन गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ३ अर्ब ६५ करोड ८४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ए माइन्स र १ अर्ब ८९ करोड ८१ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए२ प्लस रेटिङ गरेको छ ।

कम्पनीले उपलब्ध गराएको वित्तीय विवरणका आधारमा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.४१ गुणा रहेको छ ।

व्यापारिक घराना राठी तथा गोयल ग्रुप नै कम्पनीका प्रमोटर रहेका छन् । नन्द किशोर राठीको नेतृत्व र सुनिल खेम्काको व्यवस्थापनमा कम्पनी सञ्चालन भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।