राष्ट्र बैंकले बढाउन खोजेको निक्षेप संकलनको ब्याजदर झनै घट्यो

0
Shares

नेपाल राष्ट्र बैंकको निक्षेप संकलनको ब्याजदर बढाउने प्रयास बिहीबार पनि असफल भएको छ । वित्तीय प्रणालीका अधिक तरलता खिच्दै निक्षेप संकलनको ब्याज र अन्तर बैंक दर बढाउन खोजेको भएपनि असफल भएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भए अनुसारको ब्याजदर करिडोरको तल्लो सीमा ४.५ तोकिएको छ । बैंक तथा वित्तीय संस्थाको अन्तर बैंकदर तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन मार्फत तरलता खिच्नु पर्ने व्यवस्था मौद्रिक नीतिमा छ । त्यसका साथै वित्तीय क्षेत्रमा निक्षेप संकलनले मात्रै अधिक तरलता व्यवस्थापन नभएको खण्डमा स्थायी निक्षेप सुविधाको समेत व्यवस्था गरेको भएपनि त्यसलाई कार्यान्वयनमा ल्याएको छैन ।

तर, पछिल्लो समयमा वित्तीय प्रणालीको ब्याजदर तथा सुस्त कर्जाको मागका कारण अधिक तरलता छ । अधिक तरलताका कारण अन्तर दर पनि १.८९ प्रतिशतमा झरेको छ । अधिक तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई स्थीर बनाउन केन्द्रीय बैंकले निक्षेप संकलन गर्दै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको निक्षेप संकलन गर्दा तरलता व्यवस्थापन भएर ब्याजदर बढ्नु पर्नेमा झनै घट्दै आएको हो ।

केन्द्रीय बैंकले मंसिर महिना सुरु भएपछि मात्रै तीन पटक निक्षेप संकलन गरेको छ । तीनै पटकमा निक्षेप संकलनको ब्याजदर क्रमीक रुपमा घट्दै आएको छ । केन्द्रीय बैंकले मंसिर ६ गते १० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ । उक्त निक्षेप संकलनको औसत ब्याजदर १.९६५७ प्रतिशत रहेको छ । त्यसैगरी मंसिर १२ गते पनि १० अर्बको निक्षेप संकलन गरेको छ । सो दिनको निक्षेप संकलनको औसत ब्याजदर १.१४४५ प्रतिशत रहेको छ । वित्तीय प्रणालीको तरलतामा कमी नआइ प्रतिस्पर्धा झनै बढेर ब्याजदर घटेपछि केन्द्रीय बैंकले निक्षेप संकलनको आकार बढाएर १५ अर्ब पुर्यायो ।

केन्द्रीय बैंकले बिहीबार १५ अर्बको निक्षेप संकलन गर्दा प्रतिस्पर्धा झनै बढेर औसत ब्याजदर विगतको भन्दा पनि न्यून १.०४९८ प्रतिशत कायम भएको छ । केन्द्रीय बैंकले बिहीबार निष्कासन गरेको निक्षेप संकलन उपकरण १५ अर्बको भएपनि माग भने ४० अर्ब भन्दा धेरैको छ । यसले वित्तीय प्रणालीको अधिक तरलता खिची ब्याजदर करिडोरको तल्लो सीमा कायम गर्न अझै धेरै निक्षेप संकलन जारी गर्नु पर्ने स्पष्ट हुन्छ ।

सरकारी पैसालाई निक्षेपमा गणना गर्न दिने निर्णयको कारण तरलता धेरै भएको भन्दै केन्द्रीय बैंकले अन्तर बैंकदर निक्षेप संकलन दर भन्दा तल आउँदा पनि निक्षेप संकलन उपकरण जारी गरेन । बजारको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल्सलाई प्रयोग गर्दै आएको थियो । तर, पछिल्लो समयमा अधिक तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्न थालेको हो ।

केन्द्रीय बैंकले ठुलो मात्रामा निक्षेप संकलन गरेर निक्षेप संकलनको ब्याजदर बढाएको खण्डमा सरकारले ऋण उठाउँदा बढी लागत पर्न जान्छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्दा संयम भएको देखिन्छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।