प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि


प्रभु बैंकले ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि प्राप्त गरेको छ ।  बेलायतको लन्डनस्थित पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।

सन् २००० देखि ‘दि बैंकर’ले प्रदान गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ । बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ ।

पत्रिकाले २४ वर्षदेखि विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्दै आएको छ ।

“विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै आइरहेको छ ,” प्रभु बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो,” उल्लेख छ । प्रभु बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो।

बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए ।  अवार्ड वितरण समारोहमा १२० भन्दा वढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो ।

सम्मान पछि बैंकका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका थिए ।
यस्तै सीईओ शेरचनले बैंकले प्राप्त गरेको सम्मान संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै नभएर नेपालको बैंकिङ क्षेत्रकै सफलताको रुपमा दाबी गरेका थिए ।

प्रभु बैंकले तीन सयभन्दा बढी शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएममार्फत ३१ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।