लगानीकर्ताको मनोबल बढेपछि नेप्से २१ सय बिन्दुमाथि उक्लियो

0
Shares

नयाँ अर्थमन्त्री वर्षमान पुनले पदबहाली लगत्तै सेयर बजारमैत्री कदम चालेपछि लगानीकर्ताको मनोबल बलियो बनेको छ । सोही कारण नयाँ अर्थमन्त्रीले कार्यभार सम्हालेयता लगातार नेपसे बढेर मंगलबार २१ बिन्दुमाथि उक्लिएको हो ।

नयाँ अर्थमन्त्रीको रूपमा पुनले शपथ लिएर २३ गते बुधबार रातको ८ बजेट सिंहदरबार पुगेर ढिलागरी अर्थ मन्त्रालयको कार्यभार सम्हालेका थिए । त्यसयता सेयर बजारमा निरन्तर वृद्धि भइरहेको छ । फागुन २१ गते नेप्से ६% बढेर सर्किट नै लागेर बन्द भयो । सो दिन परिसूचक ११७.७० अंकले बढेर बन्द भएको थियो । त्यसपछि, फागुन २२ गते करेक्सन हुँदै नेप्सेमा ७०.३१ अंकको गिरावट आयो। त्यसयता भने नेप्से निरन्तर बढ्दै आएको छ । फागुन २३ गते ९.३३ अंकले बढेको परिसूचक फागुन २४ गते १३.५१ अंकले बढेको थियो । फागुन २५ र २६ शुक्रबार र शनिबार परेकाले सेयर कारोबार भएन । फागुन २७ गते आइतबार २२.१० अंकले बढेको बजार सोमबार ग्याल्पो ल्होसारको विदाका कारण सेयर बजार बन्द रह्यो । आज मंगलबार ५८.५८ अंकले बढेर २१११.२१ बिन्दुमा पुगेको हो । अर्थ मन्त्रालयको कार्यभर सम्हालेका पुनलाई निरनतर बजारले स्वागत गरेको लगानीकर्ताहरु बताउँछन् ।

पाँच लघुवित्तको सेयर मूल्य १०% ले बढ्यो, यी कम्पनीका लगानीकर्ता भए मालामाल

मंगलबार बजार सूचक नेप्से ५८.५८ अंकले बढेको छ । यससँगै परिसूचक २१११.२४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका १३ ओटै उपसमुहगत सूचकमा हरियाली छाएको छ । जीवन बीमाको परिसूचक सर्वाधिक ५.४४ प्रतिशत बढेको छ भने  लघुवित्त ५.०५ प्रतिशत बढेको छ । बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

नेप्सेमा आएको बढोत्तरीसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४८ रुपैयाँको सेयर कारोबार भएको हो । दिनभरमा ३०९ कम्पनीका १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर ८२ हजार ७४६ ओटा संख्यामा खरिद बिक्री भएका छन् ।अघिल्लो दिन आइतबार २ अर्ब ९२ करोड २७ लाखको सेयर कारोबार भएको थियो ।

सबैभन्दा धेरै कारोबार भएको शिवम् सिमेन्ट्सको ३७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २४ करोड ९ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ७१ लाख र माउन्टेन इनर्जीको ११ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

बुधबार पाँच ओटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेर खरिद बिक्री भएको छ । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको सेयरमा उच्च आकर्षण बढ्दा १० प्रतिशतमा मूल्य बढको हो । त्यसैगरी सपोर्ट माइक्रोफाइनान्स, नाडेप लघुवित्त र अभियान लघुवित्तको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढी बढेको छ।

आजको बजारमा सबैभन्दा धेरै मूल्य घटेको हिमालयन ८०-२० को इकाई मूल्य २.५७ प्रतिशतले घटेको छ । यस्तै मोलुङ्ग हाइड्रोपावर २.५३, न्यादी हाइड्रोपावर २.४२,हाथवे इन्भेष्टमेन्टको २.३५ र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य २.३४ प्रतिशतले घटको हो ।

मंगलबारको बजार वृद्दिपछि कुल बजार पुँजीकरण ३३ खर्ब १८ अर्ब ५४ करोड २२ लाख १२ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब २६ अर्ब ४९ करोड ७९ लाख रुपैयाँमा समेटिएको छ । आज मात्रै ९२ अर्ब ४ करोड ४३ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।