साता भरमा लगानीकर्ताले गुमाए डेढ खर्ब, कारोबार रकम, संख्या, कित्ता सबै सूचकमा संकुचन


सात कारोबार दिनमा लगानीकर्ताको सेयर सम्पत्ती झण्डै डेढ खर्ब रुपैयाँले घटेको छ । बैंकले व्याजदर घटाएको खबरले एकैदिन ५४ अंकले बढेको बजार भोलिपल्ट बैंक वित्तीय संस्थाको कमजोर वित्तीय विबरणका कारण उही गतिमा ओरालो लागेको थियो ।

त्यस पछिका हरेक दिन बजार ओरालो यात्रामा छ । माघ २ गते २१७५.१७ अंकमा बन्द भएको बजार माघ ११ गते बिहीबार २०८४.०९ अंकमा बन्द भएको छ । बजार ५४.५४ अंकले बढेको दिन माघ २ गते ८ अर्ब २ कराेडको सेयर कारोबार भएकोमा भोलिपल्ट बजार १२.१० अंकले घट्दा ९ अर्ब ७६ कराेड बढीको सेयर कारोबार भएको थियो । त्यस पछिका सबै दिनहरुमा बजार निरन्तर ओरालो लागिरहेको छ ।

आठ कारोबार दिनमा सूचकको उतार चढाव यस्तो छ ।

बजार घटेसँगै कारोबार संख्यामा पनि तीब्र गिरावट आएको छ । बजार बढेको दिन १ लाख ३३ हजार वटा कारोबार भएकोमा बिहीबार ९१ हजार ५०० वटा मात्र कारोबार भएको छ । माघ २ गते ८ अर्ब बढी र ३ गते ९ अर्ब बढीको कारोबार भएको बजारमा माघ ११ गते बिहीबार पौने ४ अर्ब रुपैयाँको मात्र सेयर किनबेच भएको छ । कारोबारमा आएका सेयरको संख्या पनि ८ दिनको अवधिमा २ करोड ३३ लाखबाट घटेर १ करोड १६ लाख कित्तामा संकुचित भएको छ ।

आठ कारोबार दिनमा कारोबार रकम, सेयर र कारोबार संख्यामा के के भयो ?

हरेक दिन बजारमा आएको गिरावटसँगै कारोबार रकम, कारोबारमा आएका सेयरको संख्या र कारोबार संख्या घट्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको आभाष बजारले गरेको छ । यस दौरान लगानीकर्ताको सेयरमा भएको लगानीको मूल्य १ खर्ब ४३ अर्ब रुपैयाँले घटेको छ । माघ २ गते ५४ अंकले बजार बढेका दिन ३४ खर्ब १६ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण माघ ११ गते बिहीबार ३२ खर्ब ७३ अर्ब रुपैयाँमा संकुचित भएको छ ।

बजार पुँजीकरणसँगै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्सको पुँजीकरण पनि १२ खर्ब ११ अर्ब रुपैयाँबाट ११ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ । फ्दोट पुँजीकरण, सेन्सेटिभ फ्लोट पुँजीकरणमा पनि भारी गिरावट आएको देखिन्छ ।

आठ दिनमा बजार पुँजीकरणमा आएको संकुचनको तथ्यांक यस्तो छ ।

बजारमा वाण्ज्यि बैंकहरुको हिस्सा धेरै छ । ठूलो हिस्सा ओगटेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमजोर प्रदर्शन गरेसँगै करेक्सनको पर्खाइमा रहेको बजार निरन्तर घट्न थालेको हो । केही दिनको करेक्सन मात्र हुने अपेक्षामा बसेका लगानीकर्ता झिनो अंकले पनि बजार सुधार हुन नसकेपछि अलमलमा परेका छन् । जसका कारण पछिल्ला केही दिनमा कारोबार रकम, कारोबार संख्या, कारोबारमा आउने सेयरको संख्यामा भारी गिरावट देखिन थालेको हो ।

तरलता अभाव नरहेको अवस्थामा बैंकहरुले क्रमिक रुपमा व्याजदर घटाउँदै लगिरहेका छन् । यसले मनोबल बलियो बनाएका लगानीकर्ता अझै पनि बजारमा कहिले होटल कहिले जलविद्युत लगायतका सेयरमा सक्रिय भइरहेका छन् । यद्यपी बजार निरन्तर घटेसँगै लगानीकर्ताको त्यो सक्रियता र मनोबाल केही संकुचित बनेको छ ।

२१०० विन्दुबाट बजार तल नझर्ने अपेक्षा गरेका लगानीकर्ताको सक्रियताका कारण बजारको गिरावट सुरुवाती दिनको जस्तो तिब्र छैन । २१०० जिन्दुको वरिपरि बजार घुमिरहेको सन्दर्भमा अब बजार यसै हाराहारीमा स्थिर हुन्छ वा बढ्छ वा घट्छ भन्ने अन्यौलता भने लगानीकर्तामा यथावत नै छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।