साना तथा मझौला उद्योगको निर्देशित कर्जा पुर्याउन बैंकहरुलाई सकस, सात बैंकको आधा पनि पुगेन


वाणिज्य बैंकहरुले लघु, साना, घरेलु तथा मझौला उद्यममा कर्जा लगानी गर्नु पर्ने व्यवस्थाको पालना गर्न नसक्ने भएका छन् । चालु आर्थिक वर्षमा कुल कर्जाको ११ प्रतिशत हिस्सा यस्तो कर्जा हुनुपर्नेमा करिब आधा बैंकहरुले सो अनुसार कर्जा लगानी गर्न नसक्ने भएका हुन ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको असासम्ममा बैंकहरुले लघु, घरेलु, साना तथा मझौला उद्योगको कर्जा लगानी कुल कर्जाको ११ प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरेको छ । तर, सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये सातले चालु आवको असोजसम्ममा तोकिएको सीमाको आधा पनि पुरा गरेका छैनन् । यो अवधिमा तोकिएका अन्य उर्जा तथा कृषि क्षेत्रमा भने सीमा भन्दा पनि धेरै लगानी गरेको अवस्था छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा वाणिज्य बैंकहरुले कुल कर्जाको औसत ९.७२ प्रतिशत लघु, घरेलु, साना तथा मझौला उद्योगमा लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ । यसमा सरकारी लगानी रहेका बैंकहरुको उच्च लगानीका कारण औसत धेरै देखिएको हो । उक्त शिर्षकमा राष्ट्रिय वाणिज्य बैंकले कुल कर्जाको १८.९२, नेपाल बैंकले २०.८५ र कृषि विकास बैंकले सबैभन्दा धेरै २६.८७ प्रतिशत कर्जा लगानी गरेका छन । तर, निजी क्षेत्रका बैंकहरुले भने सो अनुपातमा लगानी गर्न सकेका छैनन् । निजी क्षेत्रको एनएमबी बैंकले मात्रै उक्त शिर्षकमा कुल कर्जाको ११ प्रतिशत कर्जा लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको अन्त्यसम्ममा बैंकहरुले उर्जा क्षेत्रमा कुल कर्जाको ६.५ प्रतिशत र कृषिमा ११ प्रतिशत पुर्याउन पर्छ । सो अनुसार चालु आवको पहिलो त्रैमासमा बैंकहरुले ती क्षत्रेको औसत कर्जा लगानी तोकिएको सीमा भन्दा माथि पुर्याएका छन् । असोजसम्ममा बैंकहरुको कृषिको औसत कर्जा लगानी कुल कर्जाको १२.८६ प्रतिशत रहेको छ भने उर्जामा ७.२१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकहरूको कृषि र उर्जा क्षेत्रको लगानी औसतमा तोकिएको सीमा भन्दा माथि पुगेको भएपनि केही बैंकहरुको भने तल नै छ । प्रभु बैंकको कृषि क्षेत्रमा कर्जामा लगानी कुल कर्जाको ८.५६ प्रतिशत मात्रै छ । त्यसैगरी एनआइसी एसिया बैंकको उर्जा क्षेत्रको लगानी कुल कर्जाको १.३७ प्रतिशत मात्र रहेको छ । उर्जा क्षेत्रको लगानीमा सरकारी लगानीको कृषि विकास बैंकले पनि लगानी गर्न नसकेको देखिन्छ । कृषि विकास बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा उर्जा क्षेत्रमा कुल कर्जाको ४.३९ प्रतिशत मात्र लगानी गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा लघु, घरेलु, साना तथा मझौला उद्योगमा तोकिएको सीमाको आधाभन्दा थोरै लगानी गर्ने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल कर्जाको २.१०, एभरेष्ट बैंकले ३.२३, हिमालयन बैंकले ३.८७, प्रभु बैंकको ५.९१, नेपाल इन्भेष्टमेन्ट मेगाको ५.४६, नबिल बैंकको ६.४४ र नेपाल एसबिआई बैंकको ६.२२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले बैंकहरुलाई आगामी २०८४ सम्ममा कुल कर्जाको १५ प्रतिशत कृषिमा, १० प्रतिशत उर्जा र १५ प्रतिशत लघु, घरेलु, साना तथा मझौला उद्योगमा लगानी गर्नु पर्ने व्यवस्था छ । यसलाई केन्द्रीय बैंकले हरेक वर्षको सीमा तोकी बैंकहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको क्षेत्रमा कर्जा कम भएका बैंकहरुलाई आगामी दिनमा पनि सहज छैन । अर्थतन्त्रको अवस्थाले नयाँ उद्यम गर्ने व्यक्तिहरुको कमी, कर्जाको मागमा आएको कमी तथा बैंकहरुको प्राथमिक पुँजीकोषको दवाबका कारण तोकिएको सीमा कायम गर्न बैंकहरुलाई सकस पर्ने निश्चित छ । पछिल्लो समयमा ब्याजदर घट्दो क्रममा भएपनि पुँजी कोष दवाबका कारण कर्जा लगानी विस्तार गर्न बैंकहरुलाई सहज छैन । त्यसले गर्दा पनि तोकिएका क्षेत्र विषेश गरी लघु, घरेलु, साना तथा मझौला उद्योगहरुको लगानी बढ्ने सम्भावना न्यून रहेको छ ।

तोकिएका क्षेत्रमा कर्जा लगानी गर्न अझै पर्याप्त समय रहेकाले सीमा पुर्याउन समस्या नरहेको एक बैंकरले नोटबजारलाई बताए । “अर्थतन्त्रको अवस्था र पुँजीकोष दवाबका कारण केही बैंकहरुलाई जटिल हुने भएपनि अन्य क्षेत्रको कर्जा घटाएर उक्त क्षेत्रमा लगानी बढाउन सक्ने समय छ,” ती बैंकरले भने, “आर्थिक वर्ष समाप्त हुँदासम्म नपुर्याउने बैंकलाई केन्द्रीय बैंकले कारबाही गर्ला ।”

तोकिएको क्षेत्रमा कर्जा सीमा पुरा नगर्दा के हुन्छ कारबाही ?

तोकिएको अवधिभित्र तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा न्यूनतम रुपमा पु¥याउनु पर्ने रकममा हुन आउने नपुग रकममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८१ बमोजिम गणना अवधिमा कर्जामा लिने अधिकतम ब्याजदरले हुने रकम हर्जाना लाग्ने व्यवस्था छ । यसरी हर्जाना लगाउँदा त्यस्तो नपुग रकमको त्रैमासिक रुपमा हुन आउने ब्याज रकम निर्धारण गरी सोही बराबरको रकम हर्जाना कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।