अप्पर तामाकोशीले हकप्रद सेयर लिलामीबाट संकलन गर्यो ९१ करोड रुपैयाँ प्रिमियम


प्राथमिक निष्काशनको सेयरमा आवेदन गर्न जोडबल गर्ने लगानीकर्ता हकप्रद भर्न चासो नदिँदा नोक्सानीमा पर्ने गरेका छन् । आफुसँग सेयर भएको कम्पनीको गतिविधि बारे जानकार नहुँदा माथिल्लो तामाकोशीका धेरै साना सेयरधनीले हकप्रद सेयरको आवेदन नदिएपछि कम्पनीले लिलामीमा बिक्री गर्यो ।

कम्पनीले केही समय अघि १ बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारणका लागि मात्र ५ करोड १८ लाख १९ हजार कित्ता हकप्रद निष्काशन भयो । थोरै कित्ताको दरमा धेरै सेयरधनीसँग छरिएर रहेको सेयरमा अपेक्षित मात्रामा आवेदन परेन । निष्काशन भएको सेयर मध्ये ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता सेयरका लागि मात्र आवेदन परेको थियो ।

धेरै संख्यामा छरिएका साना लगानीकर्ताले आफ्नो हक नखोज्दा १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर कम्पनीले लिलामीबाट बिक्री गर्यो । उक्त सेयर लिलामीबाट बिक्री गरेर कम्पनीले २ अर्ब ६१ करोड ५७ लाख २६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो सबै रकम हकप्रदमा आवेदन नगर्ने लगानीकर्ताहरुको सम्पत्ती हो ।

उल्लेखित रकममा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरमा कम्पनीले १ अर्ब ७० करोड १९ लाख ५३ हजार रुपैयाँ पुँजी बिस्तार गरेको छ भने बाँकी रहेको ९१ करोड ३७ लाख ७३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । लिलामीमा आएको सेयरको अन्तिम कटअफ १४७ रुपैयाँ कायम भएको थियो । कम्पनीले लिलामीबाट संकलन गेको कुल रकमका आधारमा उक्त सेयर औषतमा प्रतिकित्ता १५३ रुपैयाँ ६९ पैसामा लगानीकर्ताले सकारेको देखिन्छ ।

जसमा १०० रुपैयाँ पुँजीमा गणना भएको छ भने ५३ रुपैयाँ ६९ पैसा प्रिमियम खातामा जम्मा भएको छ । उक्त प्रिमियमबाट कम्पनीले सेयर निष्काशनमा भएको खर्च गरेको छ भने बाँकी रकम सेयरधनीलाई बोनस सेयर वितरणमा खर्चिन सक्छ । यद्यपी वित्तीय अवस्था कमजोर भएका कारण तत्काल कम्पनीले बोनस खुवाउन सक्ने देखिन्न ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी प्रक्रियामार्फत पुस १३ गतेदेखि २९ गतेसम्म बिक्री गरेको हो ।

उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

अपर तामाकोशीले बिजुली बेचेर कमायो ५ अर्ब ३५ लाख, कति छ नोक्सानी ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।