राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त, सकेनन् डेपुटि गभर्नर मिश्र र ढकालले जोगाउन

0
Shares

नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई मंगलबारदेखि लागू हुनेगरी बर्खास्त गरेको छ । वरिष्ठ डेपुटि गभर्नर डा. निलम ढुङ्गानालाई दुर्व्यवहार गर्ने आचार्यले पटक पटक अनुशासनहीन कार्य गरेपछि राष्ट्र बैंकले आचार्यलाई सेवाबाट नै हटाएको हो ।

आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा ढुङ्गाना माथि दुर्व्यवहार गरेका थिए । आचार्यले ढुङ्गानालाई दुर्व्यवहार गर्नुभन्दा अघि पनि पटक पटक अनुशासनहिन कार्य गरेकोमा कारबाहीमा परेका थिए ।

ढुङ्गानालाई गरेको दुर्व्यवहार लाई लिएर डेपुटि गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक देवकुमार ढकालले आर्चायलाई संरक्षण गर्दै आएका थिए । मिश्र र ढकालले उल्टै ढुङ्गानालाई नै क्षति पुग्ने गरी सञ्चारमाध्यम प्रयोग गर्न थालेपछि ढुङ्गानाले आचार्यलाई कारबाही गर्न माग गरेका थिइन् । ढुङ्गानाले आचार्यलाई कारबाहीको माग मात्र नभई संरक्षण गर्ने उच्च अधिकारीहरुलाई पनि कारबाही हुनुपर्ने भन्दै केन्द्रीय बैंक मानव संशाधन विभाग, गभर्नर तथा सञ्चालक समितिमा समेत लिखित उजुरी दिएपछि आचार्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको थियो ।

केन्द्रीय बैंकको मानव संशाधन विभागले ढुङगानाको उजुरी उपर आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । विभागले केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार मानव संसाधान विभागको जाँचबुझ समितिले आवश्यक अध्ययन तथा प्रमाण संकलन गरेर पुष्टि भएसंगै कारबाही गरेको हो । विभागले आचार्यलाई प्रष्टिकरण पेस गर्ने समय समेत प्रदान गरी पद मुक्त गरेको केन्द्रीय बैंकका कार्यकारी अधिकृत मुक्न्द कुमार क्षेत्रीले जानकारी दिए । “केन्द्रीय बैंकको कर्मचारी विनियमावली २०६८ अनुसार गभर्नर स्तरीय निर्णयबाट पद मुक्त गरिएको हो,” उनले भने, “कार्यस्थलमा भएको दुर्व्यवहार सम्बन्धि आचारसंहिता र कर्मचारी विनियमावली अनुसार कारवाही भएको हो ।”

केन्द्रीय बैंकको टक्सार विभागको प्रमुखमा रहेका आचार्यलाई उक्त कारबाही प्रक्रिया सुरु भएपछि जिम्मेवारी बिहीन बनाइएको थियो । त्यसैगरी गभर्नर महाप्रसाद अधिकारीले दुइ पटकसम्म स्पष्टिकरण सोधेपछि मात्र पदमुक्तको कारबाही भएको हो । गर्भनर अधिकारीले आचार्यलाई कर्मचारी विनियमावलीले तोके भन्दा ७ दिन बढी समय दिई दोस्रो स्पष्टिकरण सोधेका थिए ।

त्यसैगरी अचार्यलाई कारबाही सुरु भएपछि गभर्नरले बैक सुपरिवेक्षण विभाग समेत आफु मातहत ल्याएका थिए । बैंक सुपरिवेक्षण ढुङ्गाना मातहत थियो । अचार्यलाई बचाउने र ढुङगालाई कमजोर बनाउने कार्यमा ढकालको सहभागिता देखिएपछि गभर्नरले मध्यमार्गी समाधान खोज्दै सुपरिवेक्षण विभाग आफू मातहत ल्याएका थिए । ढुङ्गानाले सुपरिवेक्षण विभागबाट ढकाललाई हटाउन वा विभाग नै आफू मातहत नराख्न भनेपछि गभर्नर आफैँले राखेका छन् ।

राष्ट्र बैंक भित्रका गलत क्रियाकलापको संरक्षण गर्दै डेपुटी गभर्नर मिश्र सहितका उच्च अधिकारी

राष्ट्र बैंक नेतृत्वबीच विवाद चर्काउँदै सुपरिवेक्षण विभाग, तीन महिनामा दुबै डेपुटी हुँदै गभर्नरसम्म

केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार कुनै पनि कर्मचारीले महिला माथि दुर्व्यवहार गरेमा कार्यस्थलमा भएको दुर्व्यवहार सम्बन्धि आचारसंहिता र कर्मचारी विनियमावली अनुसार कारवाही हुन्छ । जाँचबुझ समितिले सबुद प्रमाण अध्ययन गरी उपयुक्त सजायको ठहर सहित प्रतिवेदन गभर्नर समक्ष पेश गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को अनुसार पटक पटक अनुशासनहीन कार्य गरेमा सेवाबाट नै हटाउन सकिने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।