हेटौंडाको गुन्द्रुकले पायो सरकारी गुणस्तर मान्यता


हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।

लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तर मान्यता प्राप्त गरेको जनाइएको छ ।

बिक्री खुल्यो

मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

उपमहानगरपालिकाको १ लाख रुपैयाँबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाइएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूह अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।

गाउँमा आयआर्जनका लागि केही काम नभई बसेका आफूहरूलाई उपमहानगरले कामका लागि दिएको हौसलाले अहिलेको अवस्था आएको उनले बताइन् ।

‘यसै बसेका थियौं, काम गर्न लगानी गरिदिने भनेर नगर प्रमुखले भनेपछि गुन्द्रुकको काम थालेका हौं,’ अध्यक्ष गुरुङले भनिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाइ गुन्द्रुक उत्पादनमा लागेको उनले बताइन् ।

अनुज्ञापत्र नहुँदा बजार लैजान नपाएर गाउँमै करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक थन्किएको उनले जानकारी दिइन् । ‘अब बजारीकरणको बाटो खुलेको छ, उपमहानगरले सहयोग गरे समूहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउने थियो,’ उनले भनिन् ।

गत असोजमा कामका लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुक उत्पादन थालेका थिए । उपमहानगरको उद्योग शाखाको तथ्यांक अनुसार उपमहानगरले ८ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि अहिले २ सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।

गुन्द्रुक बजारीकरणमा सहयोग गर्छौं : नगर प्रमुख

हेटौंडामा उत्पादन भएको गुन्द्रुक बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । उद्यमी समुहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजार सहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुक बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

उनले उपमहानगरको लगानीमा हेटौंडामा सञ्चालन भएको कोसेली घरमार्फत स्थानीय उत्पादन बजारीकरणमा सहयोग गरीरहेको बताइन् ।

स्थानीय उत्पादन बजारीकरण गर्ने तयारी अनुसार नगर प्रमुख लामाले होटल व्यवसायीसँग छलmफल गरेको भन्दै मासिक १ हजार २ सय किलो गुन्द्रुक जिल्लाकै होटलमा खपत हुने गरेको बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।