सिटिजन लाइफको सोमबारको सेयर कारोबार के होला ? धितोपत्र बोर्डले थाल्यो अनुसन्धान


बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्ने दवाबमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले पुँजी पुर्याउन हतारमा गरेको निर्णयले कम्पनी समस्यामा पर्ने देखिएको छ ।

सोमबार कम्पनीले बोनस तथा नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णय सार्वजनिक गरेसँगै दोस्रो बजारमा उक्त कम्पनीको सेयर मूल्य बढेर अधिक सेयर कारोबार भयो ।

सोही समयमा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले जानकारी नगराई लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेको भन्दै प्रस्तावित लाभांश स्थगन गर्ने निर्णय गर्यो । योसँगै सिटिजन लाइफले लाभांश वितरणका सम्बन्धमा गरेको निर्णयका सम्बन्धमा २ थरी नियामक निकायहरुले अनुसन्धान थालेका छन् ।

बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालका अनुसार प्राधिकरणलाई जानकारी नगराई लाभांश प्रस्ताव गर्नुपर्ने सम्बन्धमा छानबिन सुरु भएको छ भने अर्कातिर नेपाल धितोपत्र बोर्डले पनि कम्पनी सञ्चालक समितिले गरेको निर्णयमा भएका त्रुटीका सम्बन्धमा छानबिन सुरु गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यका अनुसार कम्पनीले सोमबार सार्वजनिक गरेको लाभांश प्रस्तावको निर्णयका सम्बन्धमा बोर्डले छानबिन सुरु गरेको छ । के कति कारणले यस्तो निर्णय भएको हो, त्यसको असर के हो भन्ने विषयमा अनुसन्धान पछि मात्र निर्णयक विषय आउने उनको भनाई छ । अहिले नै कुनै पनि विषय गलत वा सही भन्न सक्ने अवस्था नरहेको र कारोबार स्थगनका विषयमा अहिले नै केही भन्न नसकिने उनले बताए ।

बीमा प्राधिकरणले स्थगित गर्यो सिटिजन लाइफको प्रस्तावित लाभांश

सोमबार बजार खुलेदेखि नै घट्दो बजारमा सेयर मूल्य बढेर अधिक कारोबार भएको कम्पनीको निर्णयका सम्बन्धमा लगानीकर्ताहरु आक्रोसित भएका छन् । कम्पनी सञ्चालक समितिले गरेको निर्णयलाई बीमा प्राधिकरणले स्थगन गर्दै गर्दा सोमबार भएको सेयर कारोबार स्थगन गरी यसको क्षतीका सम्बन्धमा पनि छानबिन हुनुपर्ने लगानीकर्ताहरुको माग छ ।

कारोबार स्थगन गर्ने मात्र नभई नियमन निकायलाई जानकारी नगराई भएको निर्णय उपर कम्पनीलाई कार्वाही गर्नुपर्ने लगानीकर्ताको माग छ ।

सिटिजन लाइफ इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रिमियममा सेयर निष्काशन गर्दा सञ्चित भएको प्रिमियमबाट बोनस र नगद गरी २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आइतबार साँझ गरेको थियो । जसमा प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गर्ने चटारोमा रहेको कम्पनीले अन्तरिम लाभांशका रुपमा २६.९८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने

यो निर्णय सोमबार बिहान नेप्सेबाट सार्वजनिक भएसँगै कम्पनीको ६ लाख ६६ हजार ४८१ कित्ता सेयरहरु ३१ करोड ९८ लाख ३० हजार ९४२ रुपैयाँमा किनबेच भएका थिए । आइतबार प्रतिकित्ता ४५१ रुपैयाँमा अन्तिम पटक किनबेच भएको कम्पनीको सेयर लाभांश प्रस्तावको सामाचारसँगै ४९६ रुपैयाँसम्ममा किनबेच भएको थियो ।

प्राधिकरणले लाभांश स्थगन गर्ने भएपछि कम्पनीको सेयर मूल्य ४६३ रुपैयाँ १० पैसामा आएर अडिएको छ । यस क्रममा घट्दो बजारमा ४९६ रुपैयाँमा पपिटजनको सेयर बिक्री गर्नेहरुले नाफा सुरक्षित गर्दा सेयर किन्नेहरु फसेका छन् ।

यस सम्बन्धमा पनि आवश्यक छानबिन गरी उचित निर्णयमा पुग्ने धितोपत्र बोर्डले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।