बीमा प्राधिकरणले स्थगित गर्यो सिटिजन लाइफको प्रस्तावित लाभांश


बीमा प्राधिकरणको अनुमति नलिइ एकै आर्थिक वर्षमा २ पटक लाभांश घोषणा गरेको सिटिजन लाइफको लाभांश स्थगन भएको छ । बीमा प्राधिकरणले सोमबार दिउँसो कम्पनीले त्रुटी गरेको निष्कर्ष सहित प्रस्तावित लाभांशलाई स्थगित गर्ने निर्णय गरिएको बीमा प्राधिकरणले जनाएको छ ।

नोटबजारसँगको कुराकानीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणको अनुमति नलिइ कम्पनीले एकाएक लाभांश वितरण गर्ने निर्णय गरेका कारण लाभांश स्थगित गर्ने निर्णय भएको बताए ।

कम्पनी सञ्चालक समितिको बैठकले प्रिमियममा सेयर निष्काशन गर्दा सञ्चित भएको प्रिमियमबाट बोनस र नगद गरी २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने

बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गर्ने चटारोमा रहेको कम्पनीले अन्तरिम लाभांशका रुपमा २६.९८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उल्लेखित विषयहरु प्राधिकरणलाई जानकारी नगराई कम्पनीले आम लगानीकर्तासम्म पुग्नेगरी सम्प्रेषण गरेका कारण प्रस्तावित लाभांशलाई स्थगित गर्न निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।