दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रुपैयाँ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको थियो ।
नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा २१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिएका छन् । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने ।
दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख रुपैयाँ, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रुपैयाँ रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए ।
नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर एक करोड ६४ लाख रुपैयाँ, सम्पत्ति कर एक करोड ५५ लाख रुपैयाँ, नक्सापास दस्तुर एक करोड ६० लाख रुपैयाँ, बहाल करबापत एक करोड १८ लाख रुपैयाँ बढी सङ्कलन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया