विद्युतिय सवारीको आयात तीन गुणाले बढ्यो, दश महिनाको राजश्व संकलन नौ अर्ब ३६ करोड


विद्युतिय सवारी साधानको आयात बढेको छ । चालु आवको पहिलो १० महिनामा आठ हजार ४९७ वटा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाली बजारमा भित्रिएको छ । यो वृद्धि गत वर्षको तुलनामा करिब तीन गुणाले हो । गत वर्ष सोही अवधिमा दुई हजार ९५५ वटा चारपाङ्ग्रे भित्रिएका थिए ।

पेट्रोलियम पदार्थको आयातलाई न्यूनीकरण गर्नका लागि सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गरेको छ । त्यसका लागि विद्युतको शुल्क घटाउने देखि भन्सार शुल्क समेत घटाएपछि विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ ।

साथै, स्वदेशमै उत्पादन हुने विद्युत खपत बढाउनका लागि समेत सरकारले चुलो देखि सवारी साधनसम्म विद्युतको प्रयोग बढाउने नीति लिएको हुनाले पनि विद्युतीय सवारीको आयात बढेको हो ।

मुलुकमा विद्युतिय सवारी साधानको मोह बढ्दै गएकोले आयात बढेको हो । अहिले अन्य सवारीको तुलनामा इलेक्ट्रिक सवारी साधानको बिक्री बढ्दै गएको व्यापारीहरु बताउँछन् । यसमध्ये डिजेल र पेट्रोलको भाउ बढ्दै जादाँ पनि उपभोक्ताको रोजाइमा इलेक्ट्रिक सवारी परेको जानकारहरु बताउँछन् ।

 

वैशाखसम्ममा ५० किलोवाटसम्मका तीन हजार ४७२, ५१ देखि १०० किलोवाटसम्मका चार हजार ८९६ वटा, १०१ देखि दुई सय किलोवाटसम्मका १०५ वटा र त्यसभन्दा ठुला क्षमताका २४ वटा कार\जिप\भ्यान आयात भएको छ । वैशाख महिनामा मात्र एक हजार चार सय वटा विद्युतीय कार भित्रिएको भन्सार विभागले जनाएको छ । साउनदेखि वैशाखसम्ममा विद्युतीय सवारी आयातको लागि २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

जसवापत सरकारले नौ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । समिक्षा अवधिमा आठ अर्ब ४१ करोड रुपैयाँँका दुई हजार ९५५ विद्युतीय कार आयात गरिएको थियो । गत वर्ष दुई अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

बैशाख महिनामा मात्र १ हजार ४०४ वटा विद्युतीय गाडी भित्रिएको छ। विभागको तथ्याँक अनुसार चैतमा ६५८ वटा विद्युतीय गाडी आयात भएका थिए भने यस्तै फागुन महिनामा २७६ वटा गाडी अयात भएको थियो।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।