बजेट विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउने तरिकाबाट आएन : उद्योग परिसंघ


नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८१\८२ को बजेट विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने खालको नभएको धारणा राखेको छ । परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएको भन्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेट सन्तुलित खालको देखिएको भएतापनि अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने भने नदेखिएको बताएको हो ।

परिसंघले दोस्रो चरणको आर्थिक सुधारमा जानुपर्छ भन्ने विषय राख्दै आएको र बजेटले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने र यसका लागि एक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा गर्नुलाई सकारात्मक रुपमा लिएको परिसंघको भनाइ छ । परिसंघले आयोग गठन गरी उच्च प्राथमिकताका साथ यस कार्यलाई अगाडि बढाइहाल्न समेत अनुरोध गरेको छ । बजेटले आर्थिक सुधारका लागि संरचनागत सुधार र व्यावसायिक वातावरण सुधारलाई प्राथमिकतामा राखेको हुँदा प्रभावकारी कार्यान्वयमा आउनेमा परिसंघ विश्वस्त छ ।

यसका साथै परिसंघले बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्ने र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने र कृषि, ऊर्जा, सूचना प्रविधि विकास, पर्यटन, उद्यमशीलता र औद्योगिक विकासलाई रुपान्तरणकारी क्षेत्र तोक्दै बजेटका प्राथमिकता क्षेत्र तोकिनुलाई राम्रो पक्षका रुपमा लिएको छ ।

परिसंघले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘बजेटले औद्योगिक व्यवसाय ऐन, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमित गर्ने) ऐन, दामासाही ऐन, श्रम ऐन, औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली र हेजिङ्ग नियमावलीमा समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । डेरिभेटिभसम्बन्धी कानून तर्जुमा गर्ने, वन ऐन र जग्गाप्राप्ति ऐनलाई समयानुकूल बनाई लगानी सहजीकरण गर्ने, कम्पनी ऐनमा संशोधन गरी दर्ता, नियमन र खारेजी प्रक्रिया लगायतका कार्यलाई सरलीकृत गरिने भनिएको छ । परिसंघले धेरै अगाडि देखि उठाउँदै आएको बौद्धिक सम्पत्ति र उधारो कारोबारसम्बन्धी कानून ल्याउनुपर्ने विषयलाई सम्बोधन गर्दै यी कानून ल्याउने भनिएको छ, यसको परिसंघ स्वागत गर्दछ ।’ साथै, बजेटमा किटानीका साथ तोकिएका यी कानूनमा सुधार गर्न एवं नयाँ कानून ल्याउने कार्यलाई तीब्रताका साथ अगाडि बढाउन परिसंघले आग्रह गरेको छ ।

परिसंघले उठाउदै आएको आयातित सामानमा गुणस्तर तोकिनुपर्छ भन्ने विषयलाई बजेटले सम्बोधन गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ुआयात हुने वस्तु तथा सेवाको गुणस्तर मापदण्ड निर्धारण गरी लागू गरिने एवं गुणस्तरसम्बन्धी सर्वस्वीकार्यता र मापदण्डमा एकरूपता हुने गरी छिमेकी मुलुकसँग सम्झौता गर्न प्रक्रिया अगाडि बढाउने स्वागतयोग्य र राम्रो सुरुवात हो ।ु तर, परिसंघले भन्दै आएको आयातित वस्तुमा भन्सार विन्दु पास हुनुपूर्व नै लेबलिङ गरिनुपर्ने विषयलाई यस पटकको बजेटले समेत बजेटले सम्बोधन गर्न नसकेको र आयातित सामानमा भन्सार पास हुनुपूर्व नै लेबलिङ गरिनुपर्ने व्यवस्थाका लागि परिसंघले माग गरेको छ ।

‘निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा सहभागी हुने गरी कानूनी प्रबन्ध गरिने भनिएको छ ।’ यसको स्वागत गर्दै आगामी आर्थिक वर्षभित्र यो व्यवस्थाका लागि कानूनी प्रबन्ध सरकारले गर्ने विश्वास परिसंघले लिएको छ ।

‘बजेटले सार्वजनिक निकायमा स्वदेशमा उत्पादित गलैँचा नै प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । यो व्यवस्थाको परिसंघ स्वागत गर्दै आत्मनिर्भर भएका अन्य स्वदेशी वस्तुहरुको प्रयोग पनि अनिवार्य गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछौं ।’ आत्मनिर्भर उन्मुख स्वदेशी वस्तुहरुलाई प्रबद्र्धन गर्न त्यस्ता वस्तुहरुको खपत बढाउने नीति लिन समेत परिसंघ आग्रह गरेको छ । परिसंघले विमानस्थल सम्बन्धित अन्य निर्णय सकरात्मक रहेपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसरी संचालन गर्ने विषयमा बजेट मौन रहेको दाबी गरेको छ ।

बजेटका धेरै पक्षहरु राम्रा हुँदाहुँदै पनि कतिपय सम्बोधन गर्नैपर्ने विषय छुटेको परिसंघको भनाइ छ । परिसंघले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न ‘स्टीमुलस प्याकेज’ आउने विश्वास हामीले गरेको थियौं, तर आउन सकेन । अर्थतन्त्र चलायमान नहुँदा सरकारले अपेक्षा गरेको राजश्व संकलन हुन गाह्रो हुन सक्छ । आन्तरिक ऋण ३७।५५ ले बढेको छ । यसले लगानी योग्य रकममा दबाब सिर्जना गर्ने हो की भन्ने परिसंघको आशंका छ ।’ ऋण लिनु सरकारको बाध्यता होला तर ऋणको दायित्वका कारण पूँजीगत खर्च घटाउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सचेत बन्न परिसंघले आग्रह गरेको छ ।

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्ने व्यवस्थाका लागि परिसंघ पुनः आग्रह गर्दछ । विगतका बजेटमा समेत समेटिएको तर कार्यान्वयन नभएका परियोजना यसपटकको बजेटमा पनि परेका छन् । बजेटमा राख्ने तर कार्यान्वयन नहुने परिपाटीको अन्त्य हुन आवश्यक छ ।

विगतका अनुभवले बजेटको कार्यान्वयन पक्ष सधै कमजोर रहदै आएको बताउँदै परिसंघले बजेटमार्फत लिइएको ६ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन आगामी मौद्रिक नीति खुकुलो र विस्तारकारी हुनुपर्नेमा जोड दिएको छ । विनियोजन गरिएको पूँजीगत लगानी गर्न बजेटको प्रभावकारी कार्यान्वयन अति आवश्यक रहेको उल्लेख गर्दै परिसंघले बजेटको सफल कार्यान्वयनका लागि बजेट कार्यान्वयनको समय अगावै स्पष्ट खाँकासहित सम्बन्धित निकायहरुलाई थप जिम्मेवार एवं उत्तरदायि बनाउन आग्रह गरेको छ ।

बजेटको सफल कार्यान्वयनका लागि नेपाल उद्योग परिसंघले विगतमा जस्तै आगामी दिनमा पनि रचनात्मक भूमिका निर्वाह गर्ने र आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि परिसंघले सुरु गरेको ‘बजेट वाच’ कार्यक्रममार्फत सरोकारवाला निकायहरुसँगको छलफललाई निरन्तरता दिने बताएको छ । साथै बजेटको प्रभावकारी कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न परिसंघले सहयोगी एवं सकारात्मक भूमिका खेल्ने विश्वास समेत दिलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।