मुद्दती निक्षेपको लागत वृद्धिदर ३ प्रतिशत विन्दुले घट्दा पनि दोहोरो अंकमै

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि बैंंक तथा वित्तीय संस्थाको निक्षेपको लागत पनि घट्न थालेको छ । अधिक तरलता तथा कर्जा लगानी विस्तार नहुँदा घटेको ब्याजदरले निक्षेपको लागत वृद्धिदर पनि ३ प्रतिशत विन्दु भन्दा धेरैले घटाएको हो ।

चालु आर्थिक वर्षको बैंशाख महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेपको लगात वृद्धिदर १०.१० प्रतिशत रहेको छ । यसमा पनि मुद्दती निक्षेपको लागत वृद्धिदर १०.२२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत आवको सोही अवधिमा निक्षेपको लागत वृद्धिदर १२.७८ प्रतिशत थियो । त्यसैगरी मुद्दती निक्षेपको लागत वृद्धिदर १३.३८ प्रतिशत थियो ।

कोरोना महामारीपछि अत्याधिक कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थालाई लगानी योग्य स्रोतको अभाव भएसंगै ब्याजदर बढाएका थिए । उक्त समयमा बैंकहरुले निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्याए । त्यसपछि अस्वस्थ्य प्रतिस्पर्धा बढ्ने भन्दै नेपाल बैंकर्स संघले ब्याजदरमा भद्र सहमती ग्रयो । त्यसरी बढेको ब्याजदर २०७९ माघ देखि सामान्य घट्न थालेको हो । २०७९ माघमा बैंकहरुले १२ प्रतिशत भन्दा माथि रहेको निक्षेपको ब्याजदर घटाइ ११ प्रतिशतमा झारेका थिए । त्यसपछि क्रमिक रुपमा घटाएका बैंकहरुले २०८० बैशाखमा मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका थिए ।

बैंकहरुले ब्याजदर घटाउन थालेको भएपनि २०८० बैंशाखमा बैंक तथा वित्तीय संस्थाको मुद्दतीको ब्याजदर २०८१ बैंशाखको भन्दा धेरै थियो । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको औसत ब्याजदर ८.५९ प्रतिशत छ । २०८० बैंशाखमा मुद्दती निक्षेपको औसत ब्याजदर १०.७६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक मन्दीका कारण कर्जाको मागमा आएको कमी तथा अधिक तरलताका कारण बैंकहरुमा थुप्रिएको तरलताले ब्याजदर घटायो। बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेसंगै निक्षेपको लागत पनि घट्दै आएको हो ।

चालु आर्थिक वर्षको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेपको ब्याज भुक्तानी गरेको छन् । यो ब्याज खर्च चालु आवकै चैत महिनाको तुलनामा १०.१७ प्रतिशतले धेरै हो । चालु आवको वैशाखमा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेपको ब्याजमा खर्च गरेका थिए ।

तर, चालु आवको बैंशाखको ब्याज खर्च गत आवको सोही अवधिको तुलनामा थोरै हो । गत आवको बैंशाखमा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ३७ अर्ब निक्षेपको ब्याज भुक्तानी गरेका थिए ।

चालु आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपका लागि मात्रै २ खर्ब ४९ अर्ब रुपैयाँ ब्याज खर्च गरेका छन् । यो रकम चालु आवको चैत महिनाको तुलनामा १०.२४ ले बढेको हो। चालु आवको चैतमा बैंक तथा वित्तीय संस्थाले भुक्तानी गरेको मुद्दती निक्षेपको ब्याज रकम २ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो ।

त्यसैगरी गत आर्थिक वर्षको बैंशाखमा बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपका लागि गरेको ब्याज खर्च २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । यो रकम गत आवको चैतको तुलनामा १३.३८ प्रीतशतले धेरै हो । गत आवको चैतमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २४ अर्ब रुपैयाँ मुद्दती निक्षेपको ब्याज खर्च गरेका थिए । चालु आवका बैंशाखको तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ४३ करोड रुपैयाँले धेरै मुद्दती निक्षेपको ब्याजमा खर्च गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।