ओभरड्राफ्ट, मार्जिन र हायर पर्चेज कर्जा सर्वाधिक महङ्गा, ओभरड्राफ्ट कर्जा ४६ प्रतिशतले घट्यो

0
Shares

बैंकहरुले प्रjfह गर्ने कर्जा मध्ये ओभरड्राफ्ट, मार्जिन र हायर पर्चेज कर्जा सबैभन्दा महङ्गा देखिएका छन् । यी क्षेत्रका कर्जा जोखिमयुक्त हुनुका साथै अनुत्पादक क्षेत्रमा परिचालन हुने भएकाले पनि लागत उच्च पर्ने गरेको हो ।

सेयर बजार र रियल स्टेटमा आएको सुधारले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरेको छ । सेयर बजार र घरजग्गाको लगानीले मूल्य वृद्धि बढाउने भएकाले पनि अनुत्पादक क्षेत्रको रुपमा ब्याख्या गर्ने गरिदै आएको छ । धितोपत्र बजार तथा घरजग्गाबाट निर्माण भएको पुँजीले आयात बढाउने तथा इजी मनिमेकिङलाई मात्रै प्रोत्साहन गर्ने भएपनि यस्ता शिर्षकका कर्जालाई अर्थतन्त्र चलायमान बढाउन भन्दा पनि अस्वभाविक उचारचढाव निम्त्याउने क्षेत्रको रुपमा देखिँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकले पनि यी क्षेत्रलाई अनुत्पादक क्षेत्रको रुपमा ब्याख्या गरेको छ । सोही अनुसार अनुत्पादक तथा अस्वभाविक उतारचढाव आउने क्षेत्रमा लगानी हुने कर्जाको जोखिम भार समेत बढाएको छ । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा परिचालन हुने तथा लगानीको क्षेत्र उल्लेख गर्ननपर्ने कर्जामा कडाई समेत गरेको छ ।

केन्द्रीय बैंकका अनुसार ओभरड्राफ्ट, हायर पर्चेज, रियलस्टेट तथा मार्जिन लोनको ब्याजदर अन्यको तुलनामा उच्च रहँदै आएको छ । चालु आर्थिक वर्षको बैंशाखको तथ्याङकलाई हेर्दा पनि यी क्षेत्रका कर्जाको ब्याजदर अन्यको तुलनामा धेरै हो । राष्ट्र बैंकका अनुसार चालु आवको बैंशाखसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ओभरड्राफ्टमा ११.९४, रियलस्टेट १०.८६, हायर पर्चेज १०.८६ तथा मार्जिङ लोनमा १०.९ प्रतिशत औसत ब्याजदर लिएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समयमा अर्थतन्त्रमा मन्दी आएपछि रियल स्टेट क्षेत्रको कर्जालाई केही खुकुलो बनाएसँगै ब्याजदर घटेको हो ।

गत आर्थिक वर्षको अन्तिम अर्थात गत असारमा वाणिज्य बैंकहरुले ओभरड्राफ्टमा १३.५६, रियलस्टेटमा १२.६३, हायर पर्चेजमा १२.८७ तथा मार्जिन लोनमा १३.५५ प्रतिशत ब्याजदर लिएको केन्द्रीय बैंकले जनाएको छ । यो ब्याजदर चालु आवको बैशाखको तुलनामा धेरै हो । अर्थतन्त्रमा आएको मन्दीका कारण बैंकहरुमा कर्जा माग बढ्न नसक्दा अधिक तरलताको समस्या देखिन थाल्यो । त्यसपछि बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर घटाउन थाले । तर, बैंकहरुले निक्षेपको ब्याजदर घटाएको तुलनामा कर्जाको ब्याजदर अझै पनि घटेको देखिँदैन ।

रियल स्टेटको कारोबार बढ्दा अन्य निमार्ण समाग्रीको पनि कारोबार बढ्ने अपेक्षा गर्दै यो क्षेत्रको कर्जा नीतिलाई केहि खुकुलो बनाएको थियो । त्यसले गर्दा पनि यो क्षेत्रको कर्जाको ब्याजदर केही कम हुन पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब पर्न थालेपनि कन्द्रीय बैंकले आयात घटाउने नीतिगत उपाय अबलम्बन गर्दा अनुत्पादक मानिने तथा आयात र मूल्यवृद्धि बढाउन मद्दत गर्ने क्षेत्रका कर्जा प्रबाह नीतिलाई कसिलो बनायो । त्यसले गर्दा पनि यी क्षेत्रको कर्जा घट्ने तथा ब्याजदर बढ्ने अवस्था आएपछि इजी मनिमेकिङका क्षेत्रको लगानी निरुत्साहित भएको छ ।

त्यसले अर्थतन्त्र नै सुस्त भएको जस्तो देखाउन मद्दत गरीरहेको भन्दै पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमै यी क्षेत्रको कर्जालाई केही समय खुकुलो गरी अल्पकालका लागि अर्थतन्त्र चलायमान बनाउनु पर्ने सुझाव दिने गरेका छन् । यी क्षेत्रको कर्जा खुकुलो बनाउँदा दिर्घकालीन अर्थतन्त्रलाई असर नगर्ने गरी अहिले ठप्प रहेको आर्थिक गतिविधि बढाउने गरी सोच्नु पर्ने उनले सुझाउने गरेका छन् ।

केन्द्रीय बैंकले कडाई गरेपछि चालु आवको १० महिनाको अवधिमा ओभरड्राफट कर्जा मात्रै ४६ प्रतिशतभन्दा धेरैले घटेको छ । गत आर्थिक वर्षको असारसम्ममा कुल एक खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा रहेकोमा बैंशासम्म आइपुग्दा करिब आधा ८६ अर्ब ११ करोडमा सिमित भएको छ । केन्द्रीय बैंकले ओभरड्राफ्टलाई कडाई गरेसँगै टर्म लोन भने बढेको छ । बैंकहरुले ग्राहलाई ओभरड्राफ्ट कर्जालाई टर्म लोनमा परिवर्तन गर्न लगाएकाले पनि बढेको हो ।

चालु आवको बैशाखसम्ममा बैंकहरुले मार्जिन कर्जा ६७ अर्ब ३४ करोड रुपैयाँ प्रवाह गरेका छन् । यो कर्जा आकार २०८० असारको तुलनामा केही बढेको हो । यसमा पनि केन्द्रीय बैंकले लिएको सामान्य खुकुलो नीतिले गर्दा बढेको हो । गत असारसम्ममा बैंकहरुले ५४ अर्ब ६९ करोड रपैयाँ मार्जिन कर्जा प्रबाह गरेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी चालु आवको बैंशाखसम्ममा बैंकहरुले रियल स्टेट क्षेत्रमा २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सो अवधिमा बैंकहरुले एक खर्ब ६ अर्ब कर्जा लगानी गरेका छन । गत असारमा बैंकहरुले हायर पर्चेज कर्जा एक खर्ब ३२ अर्ब र रियल स्टेट कर्जा २ खर्ब २ अर्ब प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।