पहिरोले लोकमार्ग अवरुद्ध, डम्पिङसाइटको पर्खाल भत्कियो


भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।

बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो । कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ ।

फोहोरको डङ्गुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ । सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो । जिल्लाको दक्षिण क्षेत्रको मुख्य नाकासँग चीन र भारत जोड्ने सडकका रुपमा रहेको कोरिडोर फोहोरको दुर्गन्धले गर्दा यात्रु नाक छोपेर हिँड्न बाध्य छन् ।

बागलुङ बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्नुपर्ने आवाज उठ्दै आए पनि सुनुवाइ भएको छैन । सडक दुर्गन्धित हुँदा यात्रु बिरामीसमेत पर्ने गाडी चालक वीरबहादुर पुनले बताए । दैनिक यो सडक भएर हजारौँ यात्रु ओहोरदोहोर गर्ने भन्दै नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उनको भनाइ छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले वर्षाको डम्पिङसाडको पर्खाल केही दिनमै मर्मत गर्ने बताए । पर्खालसँग कोरिडोर जोडिएको र छेउबाट काठेखोलाले बगाइरहेको हुँदा सडकको मापदण्ड छोडेर वर्षा रोकिएपछि पर्खा लगाउने काम सुरु हुने उनको भनाइ छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।