पर्यटकीयस्थल घोडेपानीमा हिमपात


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताएका छन् ।

“दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उनले भने, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् ।

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।