एक वर्षमा १५ अर्बको चिया, अलैची र अदुवा निर्यात


पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०\८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०\८१ मा काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०\०८१ मा यही नाका भएर छ अर्ब ५२ करोड १७ लाख रुपैयाँ बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार रुपैयाँ बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०\८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजार रुपैयाँको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।