दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०\०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो । उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ ।
वन डिभिजन कार्यालयका अनुसार चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ ।
उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा ६ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर ५ लाख ६१ हजार ५ सय रुपैयाँमा सीमित भएको थियो । यद्यपि गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ । उक्त अवधिमा ५ लाख ७६ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो ।
आर्थिक वर्ष २०७८–०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएकोे थियो । टिमुरका लागि दाङ पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्वर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिकालगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया