हङकङको सिउ साई वानमा आयोजित ‘इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड’ नेपाली टोलीले रजत र कांस्य पदक जितेका छन् । नेपाली टोलीबाट सुजन श्रेष्ठ (सेन्ट जेभियर्स कलेज, माइतीघर) ले नेपाललाई पहिलो पटक रजत पदक र प्रभात शाक्य (युलेन्स स्कुल) ले कांस्य पदक जित्न सफल भएका हुन् ।
रजत पदक विजेता सुजन श्रेष्ठले वित्तीय शिक्षा परीक्षामा ‘सर्वोत्कृष्ट प्रस्तुतिकर्ता’को उपाधि पनि प्राप्त गरेका छन् । विश्वका ५२ देशका राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएका २ सय ३५ युवा अर्थशास्त्रीहरूको सहभागिता रहेको उक्त फोरममा नेपालबाट नेपाल इकोनोमिक्स ओलम्पियाडका उत्कृष्ट ४ प्रतियोगीहरू जुलाई २२ मा हङकङ प्रस्थान गरेका थिए ।
नेपाल इकोनोमिक्स ओलिम्पियाड विगत ५ वर्षदेखि नेपालमा अर्थशास्त्र, वित्तीय साक्षरता तथा व्यावसायिक शिक्षाका लागि प्रवर्द्धन गर्दै आएको अग्रणी संस्था हो ।
सन् २०१९ देखि हरेक वर्ष नेपाल इकोनोमिक्स ओलम्पियाडले नेपालभरका उत्कृष्ट अर्थशास्त्र विद्यार्थीहरूलाई ‘इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड’मा सामेल गराउँदै आइरहेको छ । सन् २०२४ को नेपाल इकोनोमिक्स ओलम्पियाडमा सहभागी १ हजार ४ सयभन्दा बढी विद्यार्थीमध्येका चार सर्वोत्कृष्ट प्रतिस्पर्धीहरु प्रभात शाक्य (युलेन्स स्कुल), प्रसन्जित शाक्य (विश्व निकेतन कलेज), आर्या श्रेष्ठ (चेल्सी इन्टरनेसनल कलेज) र सुजन श्रेष्ठ ९सेन्ट जेभियर्स कलेज० नेपाललाई प्रतिनिधित्व गर्दै हङकङको सिउ साई वानमा भएको इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाडमा सहभागी भएका थिए ।
नेपाल र नेपाली संस्कृतिलाई झल्काउने नेवारी सांस्कृतिक प्रस्तुति पनि उक्त टोलीले उद्घाटज समारोहमा दिएको थियो । कोरोनाले सिर्जना गरेको विषम परिस्थितिका कारण दुई वर्षदेखि भर्चुअल भइरहेको इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड यस वर्ष भौतिक रूपमा सञ्चालन भएकोले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।
नेपाली टोलीलाई नेतृत्व गरिरहेका नेपाल इकोनोमिक्स ओलम्पियाड कमिटीका अध्यक्ष अर्जुन सापकोटा तथा निर्देशक दीपक भण्डारीले नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा पदक जित्दा आफू निकै गौरवान्वित भएको बताएका छन् ।
नेपालमा विद्यार्थीहरूलाई अर्थशास्त्र प्रति अभिरुची बढाउन नेपाल इकोनोमिक्स ओलम्पियाडमा नेपाली प्रख्यात अर्थशास्त्री एवं नेपाल योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल सल्लाहकारको भूमिकामा संलग्न छन् । पौडेलले नेपालजस्तो आर्थिक रूपमा विकास र प्रयोगका लागि निकै अवसर भएको देशमा नेपाल इकोनोमिक्स ओलम्पियाडजस्ता संस्थाले युवा अर्थशास्त्रीलाई सिक्ने र खोज अनुसन्धान गर्ने अवसर दिने बताए ।
प्रत्येक वर्ष नेपालका १२ विभिन्न क्षेत्रीय परीक्षामा सहभागी लगभग १४०० विद्यार्थीहरूबाट १०० भन्दा बढी विद्यार्थीलाई एपेक्स कलेज, काठमाडौंमा हुने राष्ट्रिय परीक्षामा सहभागी गराउने यस संस्थाले सन् २०२५ का लागि पनि अभ्यास सुरु गरिसकेको प्रबन्धक विराज पौडेलले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया