चन्द्रागिरि नगरपालिकाले सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने


चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् ।

यसका लागि नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जिटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डङ्गोलले सम्झौतापत्रमा हस्ताक्षर गरिन् ।

सम्झौताअनुसार नगरपालिका कार्यालय र अन्तर्गतका १५ वडा कार्यालय, १५ स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्र, २४ सामुदायिक विद्यालय र एक नगर अस्पतालमा इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलगायत सेवा टेलिकमले प्रदान गर्नेछ । यसका साथै दुई सयभन्दा बढी सार्वजनिक स्थानमा ‘वाइफाइ हटस्पट’को सेवा पनि टेलिकमले प्रदान गर्नेछ ।

टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि विभिन्न चोकमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ । नगरप्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जिपिएसर जिआइएससहितको नगर प्रोफाइलका सेवा अवलम्बन गर्न यस सम्झौताले पूर्वाधार र सहजीकरणको भूमिका खेल्ने बताए । उनले भने, “नगरपालिकाले आफ्नै सर्भरको पनि व्यवस्था गर्न लागेको छ । यसबाट डिजिटल घर नक्सा सेवा तथा अन्य सेवा पनि सुरक्षित रहने छ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका मातहतका कार्यालय, विद्यालयका गतिविधि अब नगरबाट नै निगरानी गर्न सकिने र अन्तरआवद्धतालाई थप प्रभावकारी बनाउने जानकारी दिँदै यसले नगरलाई थप प्रविधिमैत्री बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले भने,“नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन नवीनतम सोचका काम गरिरहेको छ । यसका लागि इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलाई चुस्त बनाउन टेलिकमसँग सहकार्य भएको हो । ”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।