सन नेपालका उच्च अधिकारीले झुट्टा विवरण राखी कर्मचारीको सेयरमा अनियमितता गरेको पुष्टि


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारीको सेयर बाँडफाँडमा उच्च तहका कर्मचारी झुट्टा विवरण तथा कागजात राखी अनियमितता गरेको पुष्टि भएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययन अनुसार प्रमूख कार्यकारी अधिकृत लगायतका उच्च अधिकारीको मिलेमोतोमा अनियमितता भएको देखिएको हो ।

कम्पनीले कर्मचारीलाई छुट्याएको सेयरमा उच्च अधिकारीले आफु खुसी सेयर लिएपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो । उक्त उजुरी उपर धितोपत्र बोर्डले गत भदौको तेस्रो साता निर्देशक रन्जना थकुलावाटको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले अध्ययन पुरा गरी बोर्ड सञ्चालक समितिमा बुझाएको अध्ययन प्रतिवेदन उपर छलफल भई आवश्यक कारबाही गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णयमा बोर्ड सञ्चालहरुले गत शुक्रबार मात्रै हस्ताक्षर गरेका थिए । बोर्ड सञ्चालकले हस्ताक्षर गरेपनि बोर्डले उक्त प्रतिवेदन थप अनुसन्धानका लागि शुक्रबार नै प्रहरीकोमा पठाएको छ ।

धितोपत्र बोर्ड स्रोतका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत राजकुमार अर्याल सहित उच्च अधिकारीले झुट्टा विवरण तथा कागजात संलग्न गरी आफु खुसी सेयर बाँडफाँड गरेको प्रतिवेदनको निष्कर्ष छ । “नक्कली कागजात बनाउने, कर्मचारीलाइ खाली कागजमा हस्ताक्षर गर्न लगाउने, बाँडफाँड भैसक्दा पनि कर्मचारीले पाएको सेयरको जानकारी नदिने तथा सेयर बापतको रकम समेत कर्मचारीबाट असुल नगरीएको अध्ययनका क्रममा भेटिएको छ,” स्रोतले भन्यो,“धितोपत्र सम्बन्धी ऐनको पछिल्लो संशोधन झुट्टा विवरण तथा कागजात राखेको खण्डमा प्रहरी मार्फत थप अध्ययन गराउने व्यवस्था अनुसार काम अघि बढाइएको हो ।”

प्रहरीले अर्याल सहित अनियमिततामा संलग्न व्यक्तिसंग आवश्यक बयान लिने तथा आवश्यक थप प्रमाण जुटाउने तथा मुद्दा चलाउने काम अघि बढाउने ती अधिकारीको भनाइ छ । धितोपत्र सम्बन्धी प्रहरीकोमा पठाएको यो पहिलो केस हो । यसभन्दा अघि बोर्ड आफैले कारबाहीको निर्णय गर्दै आएको थियो ।
बोर्डको अध्ययन अनुसार प्रमूख कार्यकारी अधिकृत अर्यालले मात्रै एक लाख ४ हजार कित्ता सेयर राखेका छन् । त्यसैगरी उनी मातहतका उच्च अधिकारीले २१ हजार र १७ हजार कित्ता सेयर लिएको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो अनुसार अन्य कर्मचारीलाई अन्यायमा पारी उच्च अधिकारीले आफुखुसी कर्मचारीको सेयर राखेको पाइएको बोर्ड स्रोतको भनाइ छ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने ९६ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको छ । सर्वसाधारणका लागि छुट्टयाएको ९६ लाख कित्ता सेयरमध्ये कम्पनीले १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा भएका नेपालीका लागि जारी गरेको थियो । त्यसैगरी कुल निष्काशित सेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता समुहिक लगानी कोष र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीका लागि बाँडफाँड गरेको थियो । कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी प्रति कित्ता २३९ रुपैयाँमा बिक्री गरेको हो ।

तर, कर्मचारीलाई भने प्रति कित्ता एक सय रुपैयाँमा नै दिएको थियो । कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयरमा उच्च व्यवस्थापनका केही अधिकारीले आफूखुसी निर्णय गरेर बाँडफाँड गरेपछि नेपाल धितोपत्र बोर्डमा उजुरी परेको थियो । उक्त उजुरी परेदेखि नोटबजारले निरन्तर समाचार लेख्दै आएको थियो । नोटबजारले कुनै एक कम्पनीको मात्र नभई कर्मचारीको सेयर बाँडफाँडमा उच्च व्यवथापनले गर्ने अनियमितताको सन्दर्भमा ठोस व्यवस्था गरीनु पर्ने कुरा उठाउदै आएको थियो ।

प्रमूख कार्यकारी अर्यालले लिएको अधिक सेयरको विषयमा अन्य कर्मचारीले प्रश्न गर्दा धितोपत्र बोर्ड र बीमा समितिका अधिकारीलाई समेत सेयर दिनुपर्ने भएकाले धेरै राखेको बताउने गरेका थिए । कर्मचारीलाई कति सेयर दिने भन्ने विषयमा धितोपत्र दर्ता तथा निष्काशन निर्देशिकामा उल्लेख भएपनि त्यसलाई कसरी बाँडफाँड गर्ने भन्ने विषयमा स्पष्ट नीति छैन । कर्मचारीको सेयर न्यायोचित रुपमा बाँडफाँड गर्ने भन्ने मात्र उल्लेख छ । सन नेपाल लाइफमा स्थायी कर्मचारी २३१ र अस्थायी १०२ गरी कुल ३३२ जना कर्मचारी छन् । सो अनुसार कर्मचारीका लागि ५ प्रतिशत सेयर छुट्याइएको थियो ।
कर्मचारीको सेयरको पुनः बाँडफाँड हुने

धितोपत्र बोर्डले उजुरी उपर अध्ययन गर्दा उच्च व्यवस्थापनले आफु खुसी गरेको पाएपछि कर्मचारीलाई छुट्याएको सेयर पुनः बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले फर्जरीमा थप अध्ययनका लागि प्रतिवेदन प्रहरीलाइ बुझाइ सेयर पनि पुन बाँडफाड गर्न निर्देशन दिएको हो । बोर्डले सोमबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई पुन बाँडफाँड गर्न भनि पत्राचार समेत गरीसकेको छ । बोर्डको पत्र अनुसार कम्पनीले पुरानो बाँडफाँडलाई रद्द गरी कर्मचारीलाई न्यायोचित हुने गरी पुनः बाँडफाँड गर्नु पर्नेछ ।

सन नेपाल लाइफको कर्मचारी सेयरमा उच्च अधिकारीको हालिमुहाली, धितोपत्र बोर्डमा उजुरी

कर्मचारीको सेयर बाडँफाँडमा हुने अनियमितता हेर्न समिति, दीर्घकालिन समाधान खोज्दै बोर्ड

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।