बाढी पहिरोपछि बीमा दाबी प्रक्रियामा तीव्रता, साप्ताहिक विवरण पेश गर्न निर्देशन


नेपाल बीमा प्राधिकरणले बाढी र पहिरोबाट भएको क्षतिको दाबीलाई छिटो र प्रभावकारी ढंगले फछ्र्यौट गर्नका लागि निर्जीवन बीमक र निर्जीवन लघु बीमकलाई साप्ताहिक रुपमा क्षतिको विवरण पेश गर्न निर्देशन दिएको छ ।

मंगलबार परिपत्र जारी गर्दै प्राधिकरणले असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा, पहिरो, र डुबानले बीमित सम्पत्तिमा भएको क्षति निवारणका लागि कम्पनीहरूलाई प्रत्येक बुधबार गुगल डकुमेन्टमार्फत विवरण बुझाउन निर्देशन दिएको हो ।

प्राधिकरणले बीमकहरूको सूचीमा नभएका सर्भेयरलाई समेत हालको विपत्तिको मूल्यांकनमा खटाउन सकिने व्यवस्था मिलाएको छ । यसप्रकारको दाबीका लागि सर्भेयर संख्याको कुनै सीमा लागू नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।

साथै, बीमकले संक्षिप्त कार्यविधि तयार गरी दाबी भुक्तानी प्रक्रिया तीव्र बनाउनुपर्नेछ, र सर्भेयरहरूले समयमै प्रतिवेदन बुझाउनुपर्ने निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार, दाबी भुक्तानीका लागि पुनर्बीमकहरूसँग पत्राचार गर्न आवश्यक हुनेछ। जल तथा मौसम विज्ञान विभागको प्रतिवेदनलाई क्षति मूल्यांकनको आधारका रुपमा लिन सकिने पनि व्यवस्था गरिएको छ ।

बीमकहरूले आवश्यक परेमा अग्रिम दाबी भुक्तानीको व्यवस्था गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

सरकारी विवरणअनुसार, बाढी, पहिरो, र डुवानले खानेपानीको संरचनामा ३ खर्ब ५५ करोडको क्षति पुर्याएको छ भने सडक पूर्वाधारमा २ अर्ब ५२ करोडको क्षति भएको छ । यस्तै, ऊर्जा क्षेत्रमा ४ अर्ब, सिँचाइमा २ अर्ब, र कृषि तथा पशुपालनमा ६ अर्बको क्षति पुगेको अनुमान गरिएको छ । तथापि एकीन विवरण भने आउन सकेको छैन ।