बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोसीबाट चाँडै विद्युत् उत्पादन सुरु गरिने


काठमाडौँ । सञ्चालनमा रहेका जलविद्युत गृहहरूमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको  माथिल्लो तामाकोसीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठुलो क्षति पुर्‍याएको थियो ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठुलो क्षति पुगेको छ ।

कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरू पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्यान्डरमा रहेका दुइटा पोखरीमा लेदो, गेग्र्यान, ठुल्ठुला ढुंगा थुप्रिएका छन् । दुइटा पोखरीमा ७५/७५ हजार घनमिटर लेदो, ढुंगालगायत थुप्रिएको अनुमान गरिएको छ ।

कन्ट्रोल रुम भवन, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठुलो क्षति पुगेको हो । कन्ट्रोल रुपमा कार्यरत कम्पनीका २ कर्मचारी र सुरक्षाका लागि खटिएका २ सैनिक गरी ४ जनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुंगासमेत खसिरहेको छ ।

 

 

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुल्ला गरिएका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।

बाँधबाट डिस्यान्डरबीचमा रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनीले दैनिक ४ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली विज्ञसमूहसहित मंगलबार आयोजनास्थल पुगी पहिरोले पुर्‍याएको क्षतिकाे जानकारी लिएको छ ।

टोलीले संरचनाहरूको मर्मत सम्भार गरी विद्युत् गृह सञ्चालन गर्ने विभिन्न विकल्पबारे विज्ञ समूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बिमा गरिएको राष्ट्रिय बिमा संस्थानका सर्वेयरहरू पनि सहभागी थिए ।

राज्यमन्त्री तामाङले माथिल्लो तामाकोसी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठुलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिट्टो सुरु गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे ।

 

 

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले पहिरोले नियन्त्रण कक्ष, डिस्यान्डर, कल्भर्टलगायतका संरचनामा ठुलो क्षति पुर्‍याएको देखिएको बताए ।

अझै पनि खहरे खोलामा बाढी आइरहेको र उक्त संरचनाहरूरहेको स्थानभन्दा माथि ठुल्ठुला ढुंगाहरू देखिएको उल्लेख गर्दै घिसिङले उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्वेमार्फत् समग्र रुपमा भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताए ।

‘डिस्यान्डरमा थुप्रिएको ढुंगा, लेदोलगायत हटाएपछि मात्र उक्त संरचनामा पुगेको क्षति यकिन गर्न सकिने देखिएको छ, त्यसैले सबैभन्दा पहिले ढुंगा, लेदोलगायतलाई हटाउन लागेका छौँ,’ उनले भने ।

‘सञ्चालनमा रहेको सबैभन्दा ठुलो विद्युत गृह बन्द हुँदा आन्तरिक रूपमा विद्युत् आपूर्तिका लागि समस्या त परेकै छ । यसबाट वर्षायामको विद्युत् निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ, विद्युत गृह चलाउन सकेनौं भने हिउँदमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने देखिएको छ । त्यसले जतिसक्दो छिट्टो विद्युत गृह सञ्चालन गर्न हरसम्भव उपायहरू लगाएका छौँ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले विज्ञ समूहबाट विद्युत् गृह सञ्चालन गर्न विभिन्न सुझावहरू प्राप्त भएको र उक्त सुझावहरूलाई समेटेर मर्मत सम्भारका उपायहरू अबलम्बन गरी कार्ययोजनाका साथ काम सुरु गरिसकिएको बताए ।

‘बाँधमा रहेका गेटलाई चलाउन र डिसेन्डरलाई सफा गर्न गोंगरबाट लगिएको ११ केभी विद्युत लाइन मर्मत सम्भार गरी चालु गर्ने र पावर ट्रान्सफर्मर तथा केबल प्राधिकरणबाट जडानको प्रक्रिया सुरु भइसकेको छ’, सिइओ गौतमले भने ।

उनले विद्युतगृह रहेको गोंगरबाट बाँधस्थलतर्फ जाने प्रवेश सडकअन्तर्गत काभ्रे भ्रि नजिक करिब सय मिटर सडक भासिएकाले आगतजावत असहज भएको बताए ।

प्रकाशित मिति: १६ असाेज २०८१, बुधबार  १७ : १८ बजे