सन नेपालको कर्मचारी सेयर विवाद उच्च अदालतमा, तत्कालको प्रक्रिया रोक्न अन्तिरम आदेश


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयरमा प्रमुख कार्यकारी अधिकृत लगायतले मनोमानी गरेपछि सुरु भएको विवाद उच्च अदालत पाटनसम्म पुगेको छ ।

उच्च अदातल पाटनले पनि कर्मचारीको सेयर बाँडफाँडको प्रक्रिया जे–जस्तो अवस्थामा छ त्यही अवस्थामा राख्न अन्तरिम आदेश दिएको हो ।

कम्पनीले कर्मचारीका लागि भनेर छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर मध्ये १ लाख ४ हजार ६५० कित्ता सेयर प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले मात्रै रोखेका थिए । त्यसैगरी अर्यालले आफु खुसी अन्य कर्मचारीका लागि वितरण गरेका थिए ।

उक्त विषयमा अर्यालले आफुखुसी गरेको भन्दा धितोपत्र बोर्डमा उजुरी परेको थियो । उक्त उजुरी उपर धितोपत्र बोर्डले अध्ययन समिति नै गठन गरेर अनुसन्धानका काम अघि बढाएको थियो ।

बोर्डले अध्ययन सकाएर प्रतिवेदन तयार गरी कर्मचारीको सेयर पुनः बाडँफाँड गर्न कम्पनीलाई निर्देशन दिएको थियो भने प्रमुख कार्यकारी अधिकृतले किर्ते गरेको भेटेपछि थप अध्ययनका लागि प्रतिवेदन सहित किर्तेका प्रमाण केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको थियो ।

धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले कर्मचारीको सेयर पुन बाँडफाँड गर्यो । तर, प्रमुख कार्यकारी अधिकृत अर्यालले विगतकै गतिविधि दोहोर्याए । पहिलो बाँडफाँडमा एक्लै १ लाख ४ हजार ६५० कित्ता सेयर आफुलाई राखेका अर्यालले दोस्रो पटकको बाँडफाँडबाट आफुलाई ७२ हजार कित्ता सेयर राखे । त्यसपछि पनि यो विवाद साम्य हुन सकेन ।

प्रमूख कार्यकारी अधिकृत र उच्च अधिकारीको मिलेमोतोमा कर्मचारीको सेयरमा अनियमितता भएको धितोपत्र बोर्डले पुष्टि गरेसंगै उच्च अदालत पाटनमा पनि मुद्दा दर्ता भयो ।

यता केन्द्रीय अनुसन्धान ब्यूरोले भने अनुसन्धानको काम भैरहेको जनाएको छ भने धितोपत्र बोर्डमा जानकारीका लागि पठाएको पुन बाँडफाँडको विवरण सन्दर्भमा बोर्डको सञ्चालक समितिले छलफल गरेर आवश्यक निर्णय गर्ने क्रममा छ ।

तर, पाटन उच्च अदालतले भने सन नेपाल लाइफको कर्मचारीको सेयरको बाँडफाँड प्रक्रिया तत्कालका लागि स्थगीत गर्न भन्दै अन्तरिम आदेश गरेको छ । उच्च अदालत पाटमा असोज १५ गते दर्ता भएको रिट उपर सुनुवाई गर्दै न्यायाधिस सुर्यप्रसाद पराजुलीको इजलासले अन्तरिम आदेश जारी गर्यो । त्यसैगरी विपक्षीलाई कारण देखाउ आदेश समेत जारी गरेको छ । साथै अदालतले कात्तिक ५ गतेका लागि दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

कम्पनीको कर्मचारी सेयर विवाद बढेपनि निवेदन सुवास कार्कीले उच्च अदालत पाटन रिट दर्ता गरेका हुन् । उनले नेपाल धितोपत्र बोर्ड, राष्ट्रिय बीमा प्रधिकरण, कम्पनीको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

प्रमूख कार्यकारी अधिकृत अर्याल आफैले नै उक्त सेयरका लागि दुई वटा आवेदन दिएका छन् । एउटा आवेदनमा सेयर कित्ता समेत नखुलाई आवेदन दिएको धितोपत्र बोर्डको अध्ययनले पत्ता लगाएको थियो । साथै उनले धितोपत्र बोर्डले लिएको बयानमा गल्ती भएको समेत स्वीकार गरीसकेका छन् । उनले कर्मचारीहरुबाट पनि खाली कागजमा हस्ताक्षर गराएर र अन्य प्रयोजनका लागि लिएको डिजीटल हस्ताक्षर प्रयोग गरेर सेयर आवेदन भरिदिएको बोर्डको अध्ययनले ठहर गरेको छ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने ९६ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको छ । सर्वसाधारणका लागि छुट्टयाएको ९६ लाख कित्ता सेयरमध्ये कम्पनीले १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा भएका नेपालीका लागि जारी गरेको थियो ।

त्यसैगरी कुल निष्काशित सेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता समुहिक लगानी कोष र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीका लागि बाँडफाँड गरेको थियो । कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी प्रति कित्ता २३९ रुपैयाँमा बिक्री गरेको हो ।