दसैँ र बाढीपहिरो

अवस्था सामान्य बने पनि घटेन तरकारीको भाउ, ठगी बढेको उपभोक्ताको गुनासो


काठमाडौँ । भक्तपुर सल्लाघारीकी अञ्जु सुवेदी गाउँमा दसैँ मानेर मंगलबार राति घर फर्किइन् ।

घर आएलगत्तै काठमाडौँमा भएका पाहुनालाई बोलाएकी उनी तरकारी किन्न बजार गइन् । १ हजार रुपैयाँ बोकेर तरकारी किन्न हिँडेकी उनले पैसा नपुगेर १५ सय रुपैयाँ इसेवा गरिन्, किनकि तरकारीको भाउ अचाक्ली महँगो भएको थियो ।

बिहान–बेलुका नै भान्सामा चाहिने आवश्यक तरकारीको भाउ यसरी बढ्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको गुनासो छ ।

दसैँअघिको तुलनामा तरकारीको भाउ दोब्बरभन्दा बढीले बढेको उनको भनाइ छ । किसानबाट सस्तोमा तरकारी लिएर बिचौलियाले भाउ बढाएको हुन सक्ने भन्दै उनले यसको नियमन गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

दसैँअघि घर जानुपहिले ६० रुपैयाँ प्रतिकिलोमा किनेको गोलभेँडा बुधबार प्रतिकिलो १६० रुपैयाँमा किन्न बाध्य भएको उनले बताइन् । यस्तै, आलु धार्नीको २०० रुपैयाँ, काउली १८० रुपैयाँ, लोकल काँक्रो १८० रुपैयाँ, कागती ३०० रुपैयाँ प्रतिकिलोमा किनेको उनले बताइन् ।

दसैँअघि लगातार वर्षा भएर विभिन्न ठाउँमा बाटो अवरुद्ध भएपछि बढ्न सुरु गरेको तरकारीको भाउ अहिले अवस्था सामान्य भए पनि घट्न सकेको छैन ।

काठमाडौँमा मकवानपुर, काभ्रे, चितवन, नुवाकोट, धादिङलगायत जिल्लाबाट तरकारी आउने गरेको छ । ती स्थानहरूबाट आउने तरकारीको मात्रा नै घटेकाले भाउ बढेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

अहिले भने अवस्था सामान्य भइरहेको, अधिकांश बाटो पनि खुलेकाले गर्दा अब बिस्तारै तरकारीको भाउमा गिरावट आउने उनको भनाइ छ ।

‘केही दिनपहिले व्यापारीहरूले तरकारी नै ल्याउन पाएका थिएनन्,’ श्रेष्ठले भने, ‘बाढी पहिरोले सडक नै बगाएको थियो । सामान धेरै दिन बाटोमा नै रोकिएको थियो । तरकारी बाटोमा रोकिँदा बिग्रिएर व्यापारीले धेरै नोक्सानी व्यहोरेका थिए । अहिले त्यो समस्या छैन । आयात बढ्दै गएको छ, बिस्तारै भाउ घट्छ ।’

समितिको दैनिक तथ्यांक हेर्दा असोज २५ गते आयात ह्वात्तै घटेर ३ हजार किलोको हाराहारीमा आयात भएको ठुलो गोलभेँडा अहिले ७ हजार किलोको हाराहारीमा आयात भइरहेको छ ।

यस्तै, असोज २५ गते १ लाख २२ हजार २०४ किलो आयात भएको रातो आलु अहिले २ लाख ३४ हजार १४६ किलो आयात भइरहेको छ भने ६ हजार ४६० किलो तिते करेला आयात भइरहेकामा अहिले १८ हजार ३७० किलो आयात भइरहेको छ ।

कालीमाटीमा काउली, च्याउको भने आयात बढ्न सकेको छैन । असोज २५ गते ४८ हजार ४०० किलो काउली आयात भएकामा बुधबार ३९ हजार ९० किलो मात्रै काउली आयात भएको छ ।

यस्तै, २५ गते २ हजार ८८० किलो च्याउ आयात भएकामा अहिले १ हजार ७७० किलो मात्रै च्याउ आयात भएको छ ।

कालीमाटीमा कही दिनअघिको तुलनामा तरकारीको भाउ सामान्य घटिसकेको बताउँदै उनले अन्य ठाउँमा पनि तरकारीको भाउ घट्नुपर्ने भए पनि बढिरहनु भनेको ठगी मौलाएको हुन सक्ने औँल्याए ।

अहिले कालीमाटीमा अधिकांश तरकारीको भाउ प्रतिकिलो १० देखि ५० रुपैयाँसम्म सस्तिएको छ । कालीमाटीमा बुधबारको तुलनामा बिहीबार ठुलो गोलभेँडा प्रतिकिलो १० रुपैयाँ सस्तिएको छ ।

बिहीबार कालिमाटीमा ठुलो गोलभेँडा प्रतिकिलो १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

रातो आलुको भाउ सामान्य घटेर प्रतिकेजी ९६ रुपैयाँ, रातो भारतीय आलुको ५६ रुपैयाँ र मुडेको आलु ७७ रुपैयाँमा झरेको छ ।

यसैगरी, सुकेको प्याज प्रतिकेजी १०२ रुपैयाँ, लोकल गाजर १२८ रुपैयाँ ३३ पैसा, लोकल गाँजर १९ रुपैयाँ ६९ पैसा, मकै बोडी ४५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, मटरकोसा १९० रुपैयाँ, चिचिन्डो २५ रुपैयाँ र घिरौँला ६५ रुपैयाँमा झरेको छ ।

यता, काउली, करेला, रातो मुला, सिमी, राजमालगायत केही तरकारीको भाउ भने बढेको छ ।

स्थानीय काउली ११५ रुपैयाँ, रातो मुला ४५ रुपैयाँ, सेतो लोकल मुला ३५ रुपैयाँ, सिमी ८५ रुपैयाँ, राजमा सिमी २३५ रुपैयाँ, हरियो फर्सी ६५ रुपैयाँ, तिते करेला ७५ रुपैयाँ र लौका ४५ रुपैयाँ पुगेको छ ।