बैंकहरूको खुद नाफा २१ प्रतिशतले बढ्दा वितरणयोग्य नाफा पौने १३ अर्ब


चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको आम्दानीमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले समेत बैंकहरूले उचित नाफा कमाउनुपर्ने भन्दै नीतिगत सहजता गरेसँगै आम्दानीमा सुधार देखिएको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा नोक्सानी व्यवस्था तथा पाकेर पनि नउठेको ब्याजको सन्दर्भमा लिएको खुकुलो नीतिका कारण आम्दानी बढेको हो । बैंकहरूको आम्दानी बढेसँगै खुद नाफा र वितरणयोग्य नाफामा पनि उल्लेख्य सुधार आएको छ ।

अर्थतन्त्रमा देखिएको सुस्तताका कारण कर्जाको मागमा कमी रह्यो । कर्जाको मागमा देखिएको कमीका कारण बैंकहरू नयाँ कर्जा विस्तारभन्दा पनि पुरानो कर्जा असुलीलाई जोड दिए । बैंकहरूले असुलीलाई जोड दिएसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफामा सुधार आएको हो ।

चालु आर्थिक वर्षको असोजसम्ममा सञ्चालनमा रहेको २० वाणिज्य बैंकको खुद नाफा २० अर्ब ७९ करोड ८४ लाख रुपैयाँ छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा १७ अर्ब १४ करोड ४८ लाख रुपैयाँ थियो ।

चालु आवमा बैंकहरूको नाफा बढेसँगै वितरणयोग्य नाफामा उच्च सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा ११ वटा बैंकको वितरणयोग्य नाफा नकारात्मक थियो । तर, चालु आवको पहिलो त्रैमासमा २० मध्ये १८ बैंकको वितरणयोग्य नाफा सकारात्मक छ । यो अवधिमा २ बैंकको भने नकारात्मक छ ।

चालु आवको पहिलो त्रैमासमा २ बैंकको नकारात्मक हुँदा पनि वितरणयोग्य नाफा कुल १२ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो रकम ९ बैंकको सकारात्मक हुँदा पनि ३ अर्ब ४७ करोड २५ लाख रुपैयाँ नकारात्मक थियो । बैंकहरूले असुलीलाई प्राथमिकतामा राख्दा लगानीकर्ताले प्रतिफल पाउने देखिन्छ । गत आवमा अधिकांश बैंकले लगानीकर्तालाई प्रतिफल दिन सकेका थिएनन् ।

कोरोना महामारी र आर्थिक मन्दीका कारण बैंकहरूको नयाँ व्यवस्था विस्तार नहुने र लगानी भइसकेको कर्जाको सावाँब्याज उठ्न समस्या हुँदा लगानीकर्ताले प्रतिफल पाउन सकेका थिएनन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले सबैभन्दा धेरै खुद नाफा गरेको छ । सो अवधिमा बैंकको खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँ छ ।

गत आवको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो । त्यसैगरी चालु आवको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २३ करोड १२ लाख रुपैयाँ नोक्सानीमा थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै छ । सो अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३४ करोड १ लाख रुपैयाँ छ । डिफर ट्याक्स ऐसेट २ अर्ब ४ करोड र बाँकी रहेको ब्याज ५ करोड उठेपछि वितरणयोग्य नाफा सबैभन्दा धेरै हुन आएको बैंकले जनाएको छ ।

कर्जा असुली बढेसँगै बैंकहरूको कर्जा नोक्सानी व्यवस्था पनि घट्यो । त्यसका साथै असल कर्जामा पनि कर्जा नोक्सानी व्यवस्था बापतको रकम घटाएसँगै बैंकहरूको नाफा बढेको हो । बैंकहरूले चालु आवको पहिलो त्रैमासमा गरेको आम्दानी व्यवसाय बढाएरभन्दा पनि असुली र नियामकीय सहजताले हो ।

केन्द्रीय बैंकले असल कर्जामा १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १।१० प्रतिशत कायम गरेको छ । त्यसका साथै केन्द्रीय बैंकले लेखा नीतिबमोजिम लेखांकन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये यस बैंकको निर्देशन बमोजिम प्रोदभावी आधारमा लेखांकन गरिने ब्याज आम्दानीमध्ये आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकमबाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्था अनुसारको आयकर, कर्मचारी बोनस तथा वैधानिक कोषमा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।

उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिने व्यवस्थाले पनि नफा बढाउन मद्दत गरेको हो ।

प्रकाशित मिति: ७ कात्तिक २०८१, बुधबार  १९ : १२ बजे