काठमाडौँ । तिहार पर्वले राजधानी काठमाडौँ मात्र होइन, सिंगो देशलाई छपक्कै छोपेको छ । चाडपर्वको उमंगसँगै सहरका प्रमुख व्यापारिक गल्ली र बजारमा चहलपहल बढेको छ ।
विशेष गरी काठमाडौँका न्युरोड, असन बजार, मख्खन गल्ली, र भोटाहिटी जस्ता क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न आउनेहरूको भिड देख्न पाइन्छ ।
तिहार पर्वलाई लक्षित गर्दै यहाँका फुटपाथमा सप्तरंगी टीका, भाइमसला, ढाका टोपी, लत्ताकपडा र लक्ष्मी पूजाको सामग्री बेच्ने व्यापारीहरू ग्राहकलाई बोलाउन ठुलो स्वरमा भन्छन्, ‘हरेक कपडा ५०० मा… सस्तो सामान यता यता… पाल्पाली ढाका टोपी यता यता… मौका यही हो !’
त्यही बोली सुनेर हो वा सस्तोमै सामान पाएर हो, मानिसहरूले फुटपाथका पसलहरूमा लक्ष्मीपूजा तथा भाइटीकाका लागि सामग्री खरिद गरिरहेका छन् । त्यो भिडभाडको दृश्य देख्दा लाग्छ कि चाडपर्वले पुनः बजारलाई चलायमान बनाएको छ ।
धनतेरसको दिनदेखि नै विधिवत् रूपमा सुरु भएको तिहारको चहलपहलले राजधानीको बजार क्षेत्रलाई गुल्जार बनाएको छ । असन, इन्द्रचोक, न्युरोड र मख्खन गल्लीका पसलहरूमा किनमेल गर्न आउनेको घुइँचोले व्यापारीहरू व्यस्त बनेका छन् ।
धनतेरसको दिन न्युरोड क्षेत्रमा विशेष गरी सुन, चाँदी, तामालगायतका गरगहना, भाँडाकुँडा र पूजाको सामग्री किनमेल गर्नेको संख्या अत्यधिक देखियो ।
महँगो भए पनि ग्राहकको छैन कमी
गत वर्षको तुलनामा भाइमसलामा प्रयोग हुने सामग्री जस्तै काजु, बदाम, पिस्ता, नरिवल, छोकडा, मखना, ल्वाङ, सुकुमेल, अलैँची, दालचिनी, किसमिस, अन्जिर, ओखर, मिस्रीको मूल्य आकासिएको छ ।
तर, पनि मख्खनगल्लीमा भाइटीकाका लागि सामग्री किन्ने मानिसहरूको संख्या बाक्लो छ । असनमा लामो समयदेखि ड्राइफ्रुटको व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी भन्छन्, ‘तिहार भनेको हाम्रो ड्राइफ्रुट व्यापारको पिक टाइम हो । अन्य समयमा भन्दा यो समयमा व्यापार ५ देखि १० गुणाले बढ्ने गर्छ ।’
आफ्नो पसलका निरन्तर ग्राहक मात्रै नभई यस समयमा विभिन्न ठाउँबाट ग्राहकहरू ड्राइफ्रुट किन्न आउने गरेकाले व्यापारमा सुधार देखिएको ती व्यवसायीले हर्षित हुँदै बताए ।
गत वर्ष १ केजी काजु होलसेलमा १५०० रुपैयाँमा पाइन्थ्यो तर अहिले काजुको मूल्य ६०० रुपैयाँले बढेर २१०० रुपैयाँ पुगेको छ । यस्तै बदामको मूल्य पनि ४०० रुपैयाँले बढेको व्यवसायीहरू बताउँछन् ।
यस्तै मखनाको मूल्य २०० रुपैयाँ, सुकमेलको मूल्य २ हजार रुपैयाँ, नरिवल १५० रुपैयाँले बढेको व्यवसायीहरू बताउँछन् ।
नेपालमा ड्राइफ्रुटको उत्पादन न्यून भएकाले धेरै सामग्री भारत, चीन, साउदी अरेबिया, अमेरिका र युरोपजस्ता देशहरूबाट आयात हुने गरेको छ । बाहिरबाट आयात हुने भएकाले भाइमसलाको सामग्री महँगो हुने गरे पनि व्यापार राम्रो भएको व्यापारीहरू बताउँछन् ।
नयाँबानेश्वरदेखि भाइमसला र लक्ष्मी पूजाको सामग्री खरिद गर्नका लागि न्युरोड पुगेकी स्तुति बस्नेतले भने गत वर्षको तुलनामा भाइमसलाको मूल्य बढेको पाइन् । उनी भन्छिन्, ‘पोहोर साल अलिक सस्तो थियो काजु, बदाम, पेस्ता, मखनाको मूल्य, अहिले त महँगिएर १००० रुपैयाँ खर्चिंदा पनि केही नआउने पो भएछ ।’
तिहारको समयमा भाइमसला अत्यावश्यक हुने भएकाले महँगो हुँदाहुँदै पनि सामग्री किन्नुपरेको उनले बताइन् । यो भोगाइ स्तुतिको मात्रै होइन । न्युरोड बजारमा तिहारको सपिङ गर्न पुगेका अधिकांशको भोगाइ हो ।
त्यस्तै, कलंकीबाट धनतेरसको अवसरमा काँसका भाँडा किन्न गएकी माया थापाको भनाइ पनि स्तुतिको जस्तै छ । काँसका कचौरा आफ्नो हातमा लिँदै उनले भनिन्, ‘धनतेरसमा मैले सधैँ काँसका वर्तनहरू किन्ने गरेकी छु । काँसका सामग्रीको मूल्य निरन्तर बढ्दै गएको छ,’ उनले भनिन्, ‘मलाई याद छ, केही वर्षअघि १५ वटा हजार खर्च गर्दा काँसको थाली, कचौरा र गिलासको सेट नै आउँथ्यो । तर अहिले त राम्रो थालीको सेट पनि आउँदैन ।’
झिलीमिली बत्तीको व्यापारमा कमी
तिहारलाई दीपावली भन्ने गरिन्छ । भैली तथा देउसी भट्टाउनेले झिलीमिली झिलीमिली…..बत्तीको झिलीमिली भन्दै भट्याउँछन् । अधिकांश सबैले तिहारमा आफ्नो घरमा झिलीमिली बत्तीका साथै दियो बाल्ने गर्छन् ।
सजिसजाउ घरहरूले काठमाडौँ उपत्यकाको सुन्दरता थप बढाउने गर्छ । तर, यस वर्ष झिलीमिली बत्ती किन्ने ग्राहकको संख्या घटेको व्यसायी पूर्णबहादुर महर्जनले बताए ।
असनमा विगत १५ वर्षदेखि बत्तीको व्यापार गर्दै आएका महर्जन भन्छन्, ‘तिहारमा झिलीमिली बत्तीको व्यापार सामान्य समयभन्दा ५ गुणा बढी हुने गर्छ । तर, यो वर्ष भने बिक्रीमा अलिक कमी आएको छ । अघिल्ला वर्षहरूसँग तुलना गर्दा यस पटक करिब २५ प्रतिशत मात्र व्यापार भइरहेको छ । होलसेलमा बिक्री गर्न छाडेर अहिले रिटेलमा बिक्री गर्न बाध्य भएका छौँ ।’
ढाका टोपीको माग घट्दै
तिहारमा विशेषतः दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई निधारमा सप्तरंगी टीका, गलामा मखमली तथा सयपत्रीको माला र शिरमा ढाकाको टोपी लगाइदिने गर्छन् । अन्य समयको तुलनामा तिहारमा ढाकाको टोपीको माग बढ्ने गर्छ ।
इन्द्रचोक नजिकै ढाकाका सामग्रीको व्यापार गर्दै आएका देवीप्रसाद चौलागाईं भने यस वर्ष पछिल्ला वर्षहरूमा जस्तो व्यापार नभएकामा चिन्तित छन् । उनी भन्छन्, ‘पछिल्ला केही वर्षमा ढाका टोपीको व्यापार घट्दै गएको छ । बजारमा उपहारका सामग्रीहरू धेरै उपलब्ध छन् । मानिसहरूले सस्तो टोपी खरिद गर्न थालेका छन् आजकाल । पहिलेको जस्तो व्यापार छैन अहिले ।’
तिहारले छपक्कै छोपिसक्दा बजारमा भने व्यापारीहरूलाई व्यापार बढाउनको चिन्ता छ भने ग्राहकलाई महँगो सामग्रीले निराश बनाएको छ ।
प्रतिक्रिया