सेयरबजारमा अप्रेशन सिन्दूरको प्रभाव

अप्रेशन सिन्दूरपछि सेयर बजारमा उथलपुथल : पाकिस्तानमा हाहाकार, भारतमा हरियाली


काठमाडौँ । भारतले पाकिस्तान अकुपाइड कस्मीर (पिओके) र पाकिस्तानका नौ स्थानमा गरेको क्षेप्यास्त्र प्रहारले त्यहाँ बसोबास गर्ने जनताको मनमा मात्रै नभई सेयर लगानीकर्तामा समेत त्रास पैदा गरेको छ ।

‘अप्रेशन सिन्दूर’ को नाम दिँदै भारतले क्षेप्यास्त्र प्रहार गरेपछि खुल्ला भएको कराँची स्टक एक्सचेन्ज खुल्ने बित्तिकै रात्ताम्य भएको हो । बुधबार मात्रै पाकिस्तानको सेयर बजार परिसूचक केएसई – १०० मा ६ प्रतिशतको गिरावट आएको हो । जुन पछिल्लो दुई वर्ष यताकै भारी गिरावट हो ।

भारतले गरेको आक्रमणपछि पाकिस्तानी सामाजिक सञ्जालमा ‘मार्केट क्रयास’ भन्ने हल्ला चलेपछि विचलित बनेका लगानीकर्ताले भारी मात्रामा सेयर बिक्री सुरु गरेपछि कराँची स्टक एक्सचेन्जमा सेलअफको श्रृङखला सुरु भएको थियो । सेलअफको श्रृङ्खला कायमै हुँदा स्टक एक्सचेन्जको साइट नै डाउन भयो । कराँची स्टक एक्सेन्जको साइट नै डाउन हुनु एक प्राविधिक समस्या मात्रै नभएर लगानीकर्तामा उत्पन्न भएको अविश्वास र त्रसिद भावनाको मुख्य भूमिका रहेको विश्लेषकहरुको भनाइ छ ।

भारतीय लगानीकर्ता ‘आग लगी हे बस्ती में, भोले अप्नी मस्ती में’

यता भारतमा भने पाकिस्तानी सेयरबजारको ठ्याक्कै उल्टो रुप देखिएको छ । पाकिस्तानी लगानीकर्ता प्यानिक हुँदा कराँची स्टक एक्सेन्ज रात्ताम्य भएको छ भने भारतीय स्टक एक्सचेन्ज निफ्टी र बिएसई परिसूचकमा भने हरियाली छाएको छ ।

आज बीएसई परिसूचक १०५.७१ अंकले बढेको छ भने निफ्टी सूचकांकले ३४.८० अंकको उकालो यात्रा तय गरेको छ । यसरी अप्रेशन सिन्दुरले लगानीकर्ताबीच मनोवैज्ञानिक युद्ध समेत गर्न सफल भएको छ । एकातर्फ पाकिस्तानका लगानीकर्ता प्यानिक भएका छन् भने भारतीय लगानीकर्ता ‘आग लगी हे बस्ती में, भोले अप्नी मस्ती में’ को मुडमा देखिन्छन् ।

भारतमा यस्तो सैन्य कारबाहीको प्रतिक्रियामा सेयर बजार सकारात्मक रहनु कुनै नौलो कुरा भने होइन । विगतमा घटेका घटनाहरु नियाल्दा यस्तो लाग्छ कि भारतका लगानीकर्ता निकै परिपक्व छन् र कुनै हमलादेखि विचलित हुँदैनन् ।

सन् १९९९ को मार्च महिनादेखि जुलाईसम्म चलेको कारगिल युद्धमा भारतीय सेयर बजार सुरुवाती चरण घटेतापनि युद्ध अवधि भरमै सेयर सूचकांक निफ्टी ५०, ३६.६ प्रतिशतले बढेको थियो ।

यस्तै २०१६ मा भएको उरी सर्जिकल स्ट्राइकमा पनि भारतीय सेयर बजार दुई दिन घटपनि एकैवर्ष ११.३ प्रतिशतले बढेर बाउन्स ब्याक गरेको थियो ।

साथै सन् २०१९ मा भएको बालाकोट एयर स्ट्राइको समयमा पनि निफ्टी सूचकांक एक वर्षको अवधि मै ८.९ प्रतिशतले बढेको थियो ।

आज भारतले गरेको हमलामा भने लगानीकर्ताको मनोबल उच्च हुँदा सेयरबजारमा शून्य प्रभाव देखिएको छ ।

यसरी अप्रेशन सिन्दूरले राजनीतिक तथा सैन्य (मिलिटरी) क्षेत्रमा मात्रै नभई आर्थिक जगतमा पनि ठूलो मनोवैज्ञानिक प्रभाव छोडेको छ । सेयर बजार केवल अंकहरूको खेल मात्र नभई डर, आशा, र रणनीतिक सोचको प्रतिबिम्ब भएको पाकिस्तानी सेयर बजार र भारतीय सेयर बजारले चरितार्थ गरेका छन् ।

भारत–पाकिस्तानबीच तनाव बढ्दै जाँदा पाकिस्तानको आर्थिक क्षेत्र थप प्रभावित हुने र वृद्धि दरमै असर पर्ने ग्लोबल रेटिङ एजेन्सी मुडीजले जनाएको छ ।

भारतले हालै जम्मु कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी हमलाको जवाफमा ‘अप्रेशन सिन्दुर’ आक्रमण सुरु गरेको हो ।

 

प्रकाशित मिति: २४ वैशाख २०८२, बुधबार  २० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।