सरकारको दोहोरो चरित्र : प्लास्टिक फूलमा प्रतिबन्ध, आयात निर्बाध


काठमाडौँ । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको प्रयोगमा प्रतिबन्ध लगाए पनि विदेशबाट आयात भने निर्बाध रूपमा भइरहेको पाइएको छ ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन भने भएको छैन ।

त्यति मात्र होइन, काठमाडौँ महानगरपालिकालगायत विभिन्न नगरपालिकाले पनि प्लास्टिकको फूल प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

वातावरण प्रदूषण नियन्त्रण गर्न र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूलको उपयोगमा बढावा दिन तथा स्वदेशी पुष्प व्यवसायको प्रवद्र्धनका लागि प्लास्टिकजन्य पुष्प गुच्छा, मालालगायत सामग्री प्रयोगमा रोक लगाएका हुन् ।

प्लास्टिकजन्य वस्तुका कारण सिर्जित फोहोर घटाउन तथा वातावरणमा हुने ह्रास जोगाउन प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाइएको छ ।

सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनप्र्रयोग गरिँदैन । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ या फोहोर पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले हानि नै गर्छ ।

काठमाडौँ महानगरपालिकाले २०८० साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको हो ।

विशेष गरी तिहारको समयमा सजावटका लागि लुकिछिपी प्लास्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले ठुल्ठुला पार्टी प्यालेस र होटलहरूमा निगरानी बढाउँदै आएको छ ।

यस्तै, बाँकेको कोहलपुर नगरपालिका, कैलालीको टीकापुर नगरपालिका, तनहुँको आँबुखैरेनी गाउँपालिकालगायतले पनि विभिन्न समयमा सूचना जारी गर्दै प्लास्टिकजन्य पुष्पगुच्छा प्रयोग नगर्न आदेश जारी गरिसकेका छन् ।

तर, प्लास्टिकका फूल आयात भने रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१\८२ को ३ महिनामा मात्रै २६ लाख ८९ हजार रुपैयाँ बराबरको कृत्रिम फूल आयात भएको छ । ३ महिनाको अवधिमा ६ हजार ६६३ केजी फूल आयात भएको छ । जसबापत सरकारले १५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यता, नेपाल सरकारले आर्थिक वर्ष २०७८\७९ को बजेटमार्फत् नै ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

२०७८ साउन १ गतेदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाउने नीतिगत उद्घोष नै गरेको थियो । सर्वोच्च अदालतले पनि २०७८ साउन २८ गते नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई प्रभावकारी पालना गराउन कार्यान्वयन योग्य कार्ययोजना तयार गरी प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा देशभर प्रतिबन्ध लागू गर्न नेपाल सरकारको नाममा आदेश नै दिएको थियो ।

औद्योगिक कच्चा पदार्थ वा अर्थ तयारी कच्चा पदार्थका रूपमा प्रयोग हुने प्लास्टिकजन्य कच्चा पदार्थबाहेक ४० माइक्रोनभन्दा कमका प्लास्टिकको झोला वा अन्य प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा रोक लगाएको सूचना २०७८ असोज १८ गतेको नेपाल राजपत्रमा प्रकाशनसमेत भएको थियो ।
सरकारले डिपार्टमेन्टल स्टोर, सपिङ मल, व्यापारिक प्रतिष्ठानमा प्लास्टिकको झोलाको सट्टा सुती, जुट वा कागजको झोला प्रयोग गर्न भनेको थियो । तर, न त प्लास्टिकको उत्पादन घटेको छ, न प्लास्टिकका फूल आयात रोकिएको छ

 कुन वर्ष कति आयो प्लास्टिकको फूल ?

आर्थिक वर्ष २०८०\८१ मा ७० लाख ६२ हजार रुपैयाँ बराबरको प्लास्टिकजन्य पुष्प गुच्छा आयात भएको थियो । आर्थिक वर्ष २०८०\८१ मा २१ हजार २२८ केजी प्लास्टिकजन्य पुष्प गुच्छा आयात भएको हो । जसबापत ४१ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९\८० मा १ करोड ३४ लाख २८ हजार रुपैयाँ बराबरको कृत्रिम फूलको आयात भएको थियो । आर्थिक वर्ष २०७९\८० मा ४१ हजार ७२ केजी फूल आयात हुँदा ६८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७८\७९ मा १ करोड ५ लाख ५२ हजार रुपैयाँ बराबरको कृत्रिम फूल तथा फूलका माला र गुच्छा आयात भएको थियो । उक्त वर्ष २८ हजार ५६४ केजी कृत्रिम फूल तथा फूलका माला आयात गर्दा ५५ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७\७८ मा १ करोड ७ लाख ११ हजार रुपैयाँ बराबरको कृत्रिम फूलहरू आयात भएको भन्सार विभागले जनाएको छ । उक्त वर्ष ३३ हजार १६४ केजी फूल आयात गरिएको थियो । जसबापत सरकारले ५४ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कृत्रिम फूलले हाम्रो उत्पादन खेर गयो : व्यवसायी

बजारमा प्लास्टिकका कृत्रिम फूलहरूको बिक्री वितरण नरोकिएकाले आफूहरूको उत्पादन बर्सेनि खेर जाने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष  सुरेश भक्त श्रेष्ठ बताउँछन् ।

१–२ वर्षअघिदेखि काठमाडौँ महानगरको पहलमा प्लास्टिकका कृत्रिम फूल, गुच्छा तथा माला बिक्री वितरणमा रोक लगाएको बताउँदै उनले भने, ‘पार्टी प्यालेसहरूले अझै यस्ता फूलहरू राखेका छन् ।’

सरकारले प्लास्टिकका कृत्रिम फूल बिक्रीमा रोक लगाउन सके स्वदेशी उत्पादन बढ्ने र अन्य देशहरूमा पनि निर्यात गर्न सकिने अवस्था रहेको उनले बताए ।

गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूलखेतीमा ठुलो नोक्सानी भएकाले यो वर्ष अन्य देशहरूबाट फूलको आयात गर्नुपर्ने भए पनि सरकारले फूल खेतीमा अनुदान बढाउन सके आफ्नै उत्पादनले पुग्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: १६ कात्तिक २०८१, शुक्रबार  ०३ : १७ बजे