पुँजी बजारलाई ‘एक्जीट टुल’को रुपमा मात्रै प्रयोग गर्दा विकृति बढ्यो, साधारण सेयर जारी गर्दै संस्थापक भाग्दै


पुँजी बजारको प्राथमिक निष्कासनलाई संस्थापक लगानीकर्ता एक्जिट टुलको रुपमा मात्र प्रयोग गर्ने क्रम बढेको छ । साधारण सेयर जारी गर्ने र लकइन अवधि सकिएपछि संस्थापक कम्पनीबाट बाहिरीने क्रम बढ्दा प्राथमिक बजार नै संकटमा पर्ने जोखिम बढेको हो ।

संस्थापक सेयरमा लगानी गर्ने अनि साधारण सेयर निष्कासन पछि दोस्रो बजारमा बिक्री गरी लगानीकर्ता बाहिरीने क्रम बढेको छ । कम्पनीको सबलीकरणका लागि सर्वसाधारण लागि साधारण सेयर जारी गर्नु पर्नेमा संस्थापक बाहिरीने उपायको रुपमा प्राथमिक बजारलाई प्रयोग गर्ने अभ्यास गलत भएको जानकारहरु बताउछन ।

संस्थापकहरुले कम्पनीको कुसल प्रदर्शनबाट आउने प्रतिफल भन्दा पनि दोस्रो बजारको मार्जिनल गेनमा ध्यान केन्द्रीत गर्दा यस्तो प्रवृद्धि बढेको उनीहरुको भनाइ छ ।
पछिल्लो समय सर्वसाधारणको सहभागीता गराएर कम्पनीबाट नाफा कमाउने भन्दा पनि दोस्रो बजारबाट संस्थापकले नाफा कमाउने उद्देश्य राख्दा प्राथमिक बजारको अस्तित्व नै संकटममा पर्ने जोखिम बढेको छ । कम्पनीको पूँजी बढाउन, नयाँ परियोजनाहरूमा लगानी गर्न, व्यापार विस्तार गर्न, ऋण चुकाउन, वा अन्य वित्तीय आवश्यकता पूरा गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गर्नु पर्नेमा संस्थापकले आफुलाइ मात्र हेर्ने गरेका छन ।

आईपीओ जारी गर्दा कम्पनीको वृद्धि र वित्तीय अवस्थालाई बलियो बनाउन मद्दत पुग्छ तर, संस्थापक सेयरधनी नै सेयर बेच्ने होडबाजीमा देखिएका छन । विषेश गरी जलविद्युत कम्पनीहरुमा यस्तो प्रवृद्धि बढी देखिन्छ । साधारण सेयर निष्कासन गरेका जलविद्युत कम्पनीहरुको लकइन अवधि सकिने वित्तीकै धितोपत्रको आपुर्ति बढ्ने गरेको यथार्थलाई लुकाउन सकिन्न ।

कम्पनीका संस्थापक र प्रमुख लगानीकर्ताहरूले आइपीओ जारी गरेर आफ्नो सेयर बिक्री गर्ने प्रवृतीले लगानीकर्तामा आशंका र असुरक्षाको भावना बढाएको छ । त्यसका साथै दीर्घकालीन लगानीको प्रतिबद्धता र कम्पनीको भविष्यप्रति चिन्ता पनि बढ्दै गएको छ । संस्थापक लगानीकर्ताहरूको यस्तो व्यवहारले भविष्यमा सार्वजनिक बजारको प्रतिष्ठामा असर पुर्याउन सक्ने धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरिले बताए ।

उनले भने, “आइपीओ नाफा कमाउने साधन होइन, यो कम्पनीको भविष्यको रणनीति र दीर्घकालीन विकासको प्रतिबद्धता जनाउने प्रक्रिया हो । तर, नाफा कमाउने उद्देश्यले मात्र आइपीओ निष्काशन गर्दा भविष्यमा लगानीकर्तासँग विश्वास कायम राख्न असहज हुने देखिएको छ ।”नेपालमा केही संस्थापक तथा प्रमुख लगानीकर्ताहरूले आईपीओ निष्काशनपछि आफ्नो सेयर बेचेका छन् । यस्तो व्यवहारले लगानीकर्ताहरूमा धितोपत्र बजार प्रति विश्वास कमजोर गराउने उनी बताउछन ।

नाफा कमाउने उद्देश्यले आइपीओ जारी गर्ने अनि लक इन पिरियड सकिने वित्तिकै सेयर बेचिहाल्ने प्रवृतिले अन्य साना लगानीकर्तामा असर पर्ने स्टक एसोसियशनका अध्यक्ष सन्तोष मैनालीले बताए । तर, यो नेपालमा मात्र नभई अन्य देशमा पनि यस्तै प्रवृति रहेकोले लगानी गर्ने बेला कम्पनीको वास्तविक स्थिति र दीर्घकालिक रणनीतिका बारेमा स्पष्ट हुनु पर्ने उनको भनाइ छ ।

अहिले धितोपत्र बोर्डमा आईपीओका लागि ८० कम्पनीले आवेदन दिएका छन् । ती कम्पनीले ४९ अर्ब ४८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन तयारी गरेका छन् । विभिन्न क्षेत्रका ८० वटा कम्पनीले सर्वसाधारणलाई ३४ करोड १९ लाख एक हजार ८० कित्ता सेयर (आईपीओ) जारी गर्न लागेका हुन् । यसअनुसार होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख रुपैयाँबराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् ।

४० वटा जलविद्युत् आयोजनाले कुल १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय रुपैयाँ बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर सेयर जारी गर्नका लागि बोर्डमा आवेदन परेको हो ।लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँबराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आईपीओ जारी गर्न लागेका छन् ।

सोही अवधिमा उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ रुपैयाँ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता सेयर निष्कासन प्रक्रियामा छन् ।

धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । सानिमा हाइड्रोपावर, हिमस्टार ऊर्जा कम्पनी, भुजुङ हाइड्रोपावर, दरमखोला हाइड्रो इनर्जी, सान्भी इनर्जी, बेनी हाइड्रोपावरलगायत कम्पनीको आईपीओ निष्कासन प्रक्रियामा छन् ।

यमलिङ हाइड्रोपावर, मबिलुङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोला हाइड्रोपावर, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावरलगायत कम्पनीले आईपीओका लागि आवेदन दिएका छन् ।

होटल तथा पर्यटन समूहअन्तर्गत सात कम्पनीको आईपीओ प्रक्रियामा छ । यो समूहमा एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन, अर्केड होल्डिङ्स, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एन्ड टुरिजम, अकामा होटल, ठमेल प्लाजा होटल एन्ड स्विट्स आईपीओ निष्कासनको प्रक्रियामा छन् । लगानी समूहतर्फ वरुण इन्भेस्टमेन्ट, सिड इनर्जी र शिवम् होल्डिङ्सले आईपीओको तयारी गरेका छन् ।

उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आईपीओ प्रक्रियामा छ । एकोर्ड फर्मास्युटिकल्स, एसवाई प्यानल नेपाल, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज, मारुती सिमेन्ट्स, स्मार्ट डोर्स, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज, ओम मेगाश्री फर्मास्युटिकल्सलगायत कम्पनीले पनि आईपीओका लागि बोर्डमा आवेदन दिएका हन् ।

लघुबिमा (माइक्रो इन्स्योरेन्स) तर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्न बोर्डसमक्ष निवेदन दिएका हुन् ।

अन्य समूहका १० कम्पनी आईपीओ पाइपलाइनमा छन् । ट्रेड टावर, कान्तिपुर टेलिभिजन नेटवर्क, डिस मिडिया नेटवर्क, आईएमई, हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी सर्जरी (हेम्स हस्पिटल), पिअर इनर्जी, नेपाल ब्रोडकास्टिङ च्यानल, कैलाश हेलिकप्टर सर्भिस, छायादेवी कम्प्लेक्स र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिजले आईपीओका लागि प्रक्रियामा छन् ।

धितोपत्र बोर्डका अनुसार यसअघि आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ कम्पनीले आफ्नो पुँजी वृद्धिका लागि थप धितोपत्रको निष्कासन (एफपीओ) का लागि बोर्डमा आवेदन दिएका छन् ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार  १० : ५५ बजे