रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।
कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए । भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ सङ्कलन गरेको उनले बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए ।
भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार रुपैयाँ सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।







