काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै यात्रुहरूले घरै बसीबसी अनलाइनमार्फत् बसको टिकट सजिलै काट्ने क्रम बढेको छ । अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाबाट टिकट बुक गर्ने यात्रुको संख्या बढेको पाइएको छ । बससेवाको वेब पोर्टल, मोबाइल एप तथा विभिन्न वालेटसहितका डिजिटल माध्यमबाट टिकट काट्नेको संख्या बढेको हो ।
टिकट काट्नकै लागि लाइन बस्नुपर्ने अवस्था कायम नरहोस् भन्ने उद्देश्यका साथ सेवा दिँदै आएको बससेवाले एक क्लिकमै मोबाइलमा टिकट उपलब्ध गराउँदै आएको छ । यसबाट टिकट काट्नकै लागि काउन्टरसम्म पुग्नुनपर्ने अवस्था बनिसकेको बससेवाले जनाएको छ ।
अनलाइनबाट टिकट काट्दा यात्रुलाई सहज हुनुका साथै यातायात सेवा प्रदायक कम्पनीको कारोबारमा पारदर्शिता र व्यवस्थापनमा सहज बनाएको छ । यात्रुको यात्रा विवरण, बसको उपलब्धता र प्रतिस्पर्धी टिकटको मूल्य सीधै प्राप्त गर्न सकिने भएकाले बससेवा सर्वसाधारणका लागि उचित माध्यम बन्दै गएको छ ।
‘बससेवाको अनलाइन टिकेटिङ प्रणालीले यात्रुलाई मात्र होइन, समग्र यातायात प्रणालीलाई पनि सहज र प्रभावकारी बनाउँदै नयाँ युगको आरम्भ गरेको छ,’ बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल भन्छन् ।
चाडबाडको समयमा काठमाडौँबाहिर जाने यात्रुले बसको टिकट पाउन सास्ती खेप्नुका साथै कालोबजारी, बिचौलियाको मनपरीलगायतका कारण दुःख बेहोर्नुपर्ने हुन्छ । यात्रुहरूले यस्तै समस्या भोग्नुनपरोस् भनेर बससेवाले अनलाइनबाट टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । जसमा पिकअप स्थान, गन्तव्य, पैसा सबैको जानकारी एपमा आउने भएकाले यात्रु ठगिने हुँदैन ।
बससेवाले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरालगायत पहाडी जिल्लाहरूमा पछिल्लो समय आफ्नो सेवालाई तीव्र बनाउँदै लगेको छ । देशका सबै स्थानमा प्रभावकारी सेवा प्रवाह गर्ने बससेवाको भनाइ छ । अहिले ठुलो संख्यामा यात्रुहरू बससेवाबाट टिकट काट्न थालेको अवस्थामा सेवालाई प्रभावकारी बनाउँदै लगिएको बससेवाले जनाएको छ ।
दूरदराजका यात्रुले ३–४ घन्टाको लामो यात्रापछि मात्रै टिकट काट्न पाउने अपस्थालाई मध्यनजर गर्दै बससेवाले दूरदराजमा आफ्नो सेवा विस्तार गरेको हो । बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा समय–समयमा सञ्चालन गर्ने क्यासब्याक अफरले अनलाइन टिकट काट्नेको संख्या बढिरहेको छ । सुदूरपश्चिमका साथै देशका जुनसुकै स्थानबाट अन्य कुनै पनि गन्तव्यमा जाने बसको टिकट काट्न सकिने बससेवाले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीका लागि पनि बससेवाबाटै टिकट काट्न सकिन्छ ।
बससेवाको मोबाइल एप
मोबाइल एप ‘बससेवा’मार्फत् टिकट काट्न एन्ड्रोइड मोबाइलमा गुगल प्ले र आइफोन प्रयोगकर्ताले एपस्टोरमा गई बससेवाको एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड भएको एप खोलेर प्रयोगकर्ताको नाम र पासवर्डमार्फत् लगइन गर्नुपर्ने हुन्छ । पहिले बससेवाको खाता नभएकाले नयाँ खाता खोली लगइन गर्नुपर्ने हुन्छ ।
त्यसपछि, यात्रुहरूले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी आफूलाई मन परेको बस र सिटको टिकट बुकिङ गर्न सकिन्छ । एप्लिकेसनले यात्रुलाई आफ्नो यात्राको विवरण, टिकट मूल्य र अन्य जानकारी समेत देखाउँछ ।
एकपटक टिकट चयन गरेपछि यात्रुले डिजिटल भुक्तानी गरेर टिकट काट्न सक्छन् । मोबाइलबाट प्राप्त भएको टिकट नै बसमा देखाएर चढ्न सकिन्छ । टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।
बससेवा डट कम
कुनै पनि ब्राउजरमा बससेवा डटकम (bussewa.com) मा जानुपर्ने हुन्छ । सहजताका लागि बससेवा मात्र सर्च गरी उपलब्ध नतिजाहरूमा बससेवाको आधिकारिक वेबसाइटमा क्लिक गरेर पनि बससेवाको पोर्टलमा पुग्न सकिन्छ । बससेवाको होमपेजमा नै गन्तव्यहरूको विवरण भर्ने विकल्प देखिन्छ । कहिलेका लागि कुन ठाउँबाट गाडी चढ्ने र कहाँ पुग्ने भनेर माग गरिएका विवरण भरेपछि सर्च बटनमा क्लिक गरेपछि कुन–कुन बस उपलब्ध छन्, भाडा कति लाग्छ ? बस कस्तो हो ? कुन कम्पनी वा सेवाप्रदायक हो भनेर सूची देख्न सकिन्छ ।
बसको सुविधा र भाडा दर हेरेर गाडी छनोट गरेपछि सिट छान्न सोही बसको नाममा क्लिक गरेपछि बसको सिट प्लान देखिन्छ । जसमा खैरो रङको सिटले बुक भइसकेको र हरियो रङ भएको सिटले खाली सिट रहेको संकेत गरेको हुन्छ । हरियो रङ लागेकोमध्येबाट आफूलाई पायक पर्ने सिट छानेर फेसबुक वा इमेल लगइन गरेपछि ओटिपी कोड आउँछ । उक्त ओटिपी कोडलाई बससेवाको पोर्टलमा राखेपछि टिकटको रकम भुक्तानी गर्ने विकल्प देखिन्छ । त्यहाँ आफ्नो नाम, फोन नम्बर, इमेललगायत मागिएका विवरण भरिसकेपछि रकम भुक्तानीका लागि विभिन्न विकल्पमा जान सकिन्छ ।
कुनै एक विकल्पबाट टिकटको महसुल भुक्तान गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ ।
आफैं बससेवाको प्रयोग गर्न नसक्नेहरूले अन्य प्रयोगकर्तासँग आग्रह गरेर पनि केहीबेरमा नै बसको टिकट काट्न सक्छन् ।
प्रतिक्रिया