भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै, आवेदन माग


काठमाडौँ । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । मुलुकमा माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि भारतबाट आयात गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेकोमा भारतले नेपाललाई ९० हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको थियो।

सोही अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना निकालेर भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीका लागि आवेदन माग गरेको हो ।

भारत सरकारबाट नेपालका फर्म\कम्पनीका लागि छुट्याएको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवदेन माग गरिएको छ । गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि १० हजार मेट्रिक टन गहुँको परिणाम खुलाई सात दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने छ । गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीको चुक्तापुँजी एक करोड रुपैयाँ हुनुपर्ने छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकामा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको थिएन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९र८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८र७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

 

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार  ०८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।