चालु आर्थिक वर्षको पुससम्ममा निर्यात तथा रेमिट्यान्समा आएको सुधारले शोधनान्तर स्थिति उल्लेख सकारात्मक भएको छ । मङ्सिरमा २ खर्ब २५ अर्ब रहेको शोधनान्तर बचत बढेर पुसमा २ खर्ब ४९ अर्ब पुगेको हो ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी सोही अवधिमा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८२२ अर्ब ३७ करोड पुगेको छ । आयातमा उल्लेख्य सुधार आउन नसकेपछि शोधनान्तर बचत बढेको केन्द्रीय बैंकले जनाएको छ । सो अवधिमा रेमिट्यान्स पनि ४.१ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्ष ६ महिनासम्ममा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।
चालु आवको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको ६ महिनासमममा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपैयाँ बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।
प्रतिक्रिया