जुम्लामा ११ किलोमिटर सडक निर्माण


जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ ।
उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए। उनले भने, “यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि १८ लाख रुपैयाँदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ ।”
झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका–४ स्थित गिडीदह, सिञ्जा–२ स्थित रनुखाना, हिमा–१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री  जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ । साथै, उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरु मर्मतसम्भार गरिने जानकारी दिए ।

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।