काठमाडौँ । भारतबाट आयात हुने बिजुलीकाे मात्रा घट्ने समाचार बाहिरिएसँगै आमसर्वसाधारणमा फेरि लोडसेडिङ हुने हाे कि ! भन्ने त्रास थपिएकाे छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्रीबीचकाे ‘टसल’का कारण अब फेरि लोडसेडिङ हुने हाे कि भन्ने त्रास बढेका बेला आयात हुने बिजुली नै कटौती हुने खबरले त्यसमा अझै बल बुर्याएकाे हाे ।
वर्तमान सरकार गठन भएदेखि नै सरकार र कुलमानबीच टकरावकाे अवस्था छ । डेडिकेटेड फिडर र ट्रंकलाइन बापतकाे महसुल बक्यौता विवादले उग्र रूप लिँदा सरकार कुलमानलाई हटाउने अन्तिम तयारीमा छ । साेहीअनुरुप मन्त्रिपरिषद्काे निर्णयबाट उनलाई अन्तिम पटक स्पष्टीकरण साेधिसकिएकाे छ । अब भारतबाट बिजुली आयात कटौती भएसँगै हुन सक्ने सम्भावित लोडसेडिङलाई हतियार बनाएर कुलमानलाई हटाइन सक्ने आकलन पनि हुन थालेकाे छ ।
भारतले आज आइतबारदेखि दिनको १२ घन्टा (सोलार आवर- बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै विद्युत् दिने भएको हो । नेपालले बर्खामा बिजुली निर्यात गर्ने गरेको छ भने हिउँदमा बिजुली आयात गर्ने गरेको छ । सोही अनुरुप नेपाल विद्युत् प्राधिकरणले खोला तथा नदीमा पानीको बहाव घट्ने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ ।
तर, दैनिक २० घन्टा बिजुली आयात गर्दै आएको नेपालले अब भने १२ घन्टा मात्रै आयात गर्न पाउने भएको छ । यता, प्राधिकरणले उद्योगहरूमा यसअघि नै ८ देखि ९ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ । भारतले विद्युत् घटाएर पठाउनेबित्तिकै उद्योगहरूमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुन सक्ने उद्योगी पशुपति मुरारका बताउँछन् ।
राज्यले नेपालमा उद्योगहरूको काम नै नभएको जस्तो गरेर बारम्बार दुःख दिने गरेको मुरारकाको आरोप छ । ‘आर्थिक समृद्धिको भरपर्दो आधार नै औद्योगिकीकरण हो,’ उनले भने, ‘राज्यलाई न उद्योग चाहिएको छ, न त उद्योगी चाहिएको छ । पहिलादेखि नै उद्योगहरूले क्षमताको आधामात्र उत्पादन गर्दै आएका छन्, अब त्यही पनि उत्पादन हुँदैन । राज्यले गर्न खोजेको यही होला ।’
प्राधिकरणले २०७५ सालको वैशाखबाटै लोडसेडिङको अन्त्य भएको घोषणा गर्दै आए पनि त्यो यथार्थ नभएको उनले बताए । ‘प्राधिकरणले जनतालाई भ्रममा राखेको छ,’ उनले भने, ‘लोडसेडिङ अन्त्य भयो भन्नका लागि त औद्योगिक क्षेत्रको विद्युत् कटौती हटाउनुप¥यो नि ! औद्योगिक क्षेत्रमा पिक समयमा विद्यत् काटेर लोडसेडिङ हटाएँ भनेर त हुँदैन ।’
मुलुकको आन्तरिक माग १८०० मेगावाट छ । नेपालमा हिउँदको समयमा २४०० मेगावाटसम्म बिजुली खपत हुने गरेको छ । जसमा स्वदेशी उत्पादन १५०० मेगावाट र औसत ६०० मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको छ ।
अब ३०० मेगावाट बिजुली मात्रै भारतबाट आयात हुन्छ । भारतले मार्च १५ (चैत २) सम्म दिनको २० घन्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मा मात्रै आयात गर्ने अनुमति दिएको थियो ।
फेब्रुअरीदेखि मेसम्म विद्युत् आयात गर्ने गरी नेपालको प्राधिकरण र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) बीच सम्झौता भएको थियो । तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त सम्झौताबाट बिजुली आयात गर्न स्वीकृति दिएको छैन । भारतले स्वीकृति नदिँदा नेपालले बिजुली आयात गर्न नपाएको हो ।
नेपालका अधिकांश विद्युत् आयोजनाहरू बहावमा आधारित भएकाले हिउँदमा उत्पादन ३० प्रतिशतसम्म घट्ने गरेको प्राधिकरणको तथ्याकंले देखाएको छ ।
प्राधिकरणले भने हिउँदयाम सुरु भएसँगै खोला नदीमा पानीको सतह घट्दा देशभित्रका नदीको प्रवाह जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने र पिक समयमा आन्तरिक माग धान्न भारतबाट आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको बताउँदै आएको छ ।
तर, सर्वसाधारणको घरको बिजुली भने कुनै पनि हालतमा कटौती नहुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषको तर्क छ । सोलार आवरमा मात्रै बिजुली आयात गर्नुपरेको खण्डमा औद्योगिक क्षेत्रमा साँझ बिजुली कटौती गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।
पहिलेका वर्षहरूमा पनि हिउँदको समयमा भारतबाट ३०० मेगावाट बिजुली नै आउने गरेको जिकिर गर्दै उनले भने, ‘विगतका वर्षहरूमा पनि हिउँदको समयमा भारतबाट ३०० मेगावाट नै बिजुली आयात हुन्थ्यो, त्यतिबेला पनि सर्वसाधारणको घरमा बत्ती काटिएको रेकर्ड छैन । अब पनि काटिँदैन ।’
यता, औद्योगिक क्षेत्रको हकमा भने अहिलेको समयमा केही तलमाथि हुने उनले बताए । सर्वसाधारण रहे मात्र उद्योग चल्ने बताउँदै उनले प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ रहुन्जेल सर्वसाधारण अन्धकारमा बस्नुनपर्ने जिकिर गरे ।
‘पिक आवरमा हामीलाई १७०० मेगावाट आसपासको विद्युत् चाहिन्छ, जुन व्यवस्थापनका लागि समस्या छैन, सर्वसाधारणलाई बिजुली दिन हामी सक्षम छौँ,’ उनले भने ।
प्रतिक्रिया