राजा फर्काउने आन्दोलनका कारण थला पर्‍यो बिसन्चो ठिक पार्ने ‘सन्चो’ !

तत्काल १० करोड आवश्यक, मन्त्रालय भन्छ– स्रोत खोजिरहेका छौँ


काठमाडौँ । बिसन्चो ठिक पार्ने अचुक औषधि हो ‘सन्चो’ । तर, अहिले त्यही ‘सन्चो’ नै बिरामी भएको छ । गत १५ चैतमा भएको प्रदर्शनका क्रममा राजावादी समर्थकहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे ।

जसका कारण अहिलेसम्म पनि कम्पनीले उत्पादन सुरु गर्न सकेको छैन । कम्पनीले सन्चो, सन्चो बाम (भिक्स), सन्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सन्चो जटा केश तेल, सन्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको थियो ।

सरकारको स्वामित्वमा २०३८ सालमा स्थापित यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको संकलन र प्रशोधन गर्दै आएको कम्पनीकी महाप्रबन्धक संगीता यादव बताउँछिन् ।

स्थापना भएको १८ वर्षपछि २०५६ सालदेखि कम्पनीले सन्चो उत्पादन गर्दै आएको थियो । कम्पनी टिकाउने प्रमुख उत्पादन नै सन्चो हो भन्दा फरक पर्दैन ।

रुघा, खोकी, नाक बन्द हुँदा होस् वा टाउको, जिउ, जोर्नी, मांसपेसी दुखेका बेला सबैमा सन्चो नै प्रयोग गर्ने गरिएको छ ।

तर, त्यो सन्चोको भवन खण्डहर भएको छ । सिसाहरू फुटाइएको छ, घरमा आगो लगाइएको छ । औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङलगायत सामग्री जलेर खरानीमा परिणत भएका छन् ।

केन्द्रका प्रशासन प्रमुख धर्म नेपालका अनुसार केन्द्रीय कार्यालय काठमाडौँमा भए पनि बारा, झापा, कैलाली, जाजरकोट, गोरखामा यस कम्पनीका शाखा छन् ।

कम्पनीमा स्याथी, मासिक करार र ज्यालादारी कर्मचारी छन् । कम्पनीमा प्रत्यक्ष रूपमा ४०० जनाले रोजगारी पाएका छन् भने १ हजार किसान आबद्ध छन् ।

किसानले कम्पनीका लागि जडीबुटी उत्पादन गर्छन् । कम्पनीमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् ।

आगजनीबाट २८ करोड रुपैयाँ बराबरको क्षति भएको यादवले बताइन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) सुविधासहितका दुइटा भवनमा क्षति पुगेको उनको भनाइ छ ।

यद्यपि, अहिले बजारमा सन्चोको अभाव भने नभएको उनले बताइन् । ‘बजारमा सन्चोको अभाव छैन,’ उनले भनिन्, ‘हामीले उपत्यकाबाट मात्रै सन्चोको उत्पादन गर्दैनौँ । बारा, झापा, कैलाली, जाजरकोट, गोरखा, टीकापुरका शाखाबाट पनि उत्पादन भइरहेको छ ।’

उनले नयाँ मेसिनहरू जडान गर्न र बनाउँदा बन्ने मेसिन पुनः सुचारु गर्न १० करोड रुपैयाँ आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘यसका लागि पनि हामीले सरकारसमक्ष माग गरेका छौँ । वनमन्त्री ऐनबहादुर शाही ठकुरीसँग पनि छलफल भएको थियो । यस विषयमा मन्त्रालय सकारात्मक छ ।’

पहिलेकै परिमाणमा गर्न नसकिए पनि उत्पादन सुरु गर्ने उनको भनाइ छ । कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको र त्यसलाई विस्तार गर्ने प्रक्रियामा रहेको उनले बताइन् ।

तत्काल नै सन्चो उत्पादन सुरु नभएपछि विदेशी कम्पनीहरूसँग ठुलो प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने उनले बताइन् । उनले भनिन्, ‘सन्चो उत्पादन गरेर बजारमा नपठाउने हो भने विदेशी प्रोडक्टको मनोमानी सुरु हुन्छ ।’

यस्तै, उनले आफ्नो नेतृत्व आइतबारबाट सकिएको बताउँदै नयाँ नेतृत्वका लागि पनि मन्त्रालयसँग अपिल गरिएको बताइन् ।

यता, वन मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्ले भने स्रोत सुनिश्चित गर्न मन्त्रालयले छलफल तीव्र पारेको बताउँछन् ।

उनले भने, ‘मन्त्रालयले प्राविधिक र विज्ञसँग छलफल गरिरहेको छ । केन्द्रले अस्थायी रूपमा सञ्चालन गर्न करिब १० करोड रुपैयाँ आवश्यक रहेको बताएको छ । यसको बारेमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भइसकेको छ । छिट्टै निर्णयमा पुग्छौँ ।’ तर, अहिले नै उत्पादन भने सुरु गर्न नसकिने उनले बताए ।

कम्पनीले उत्पादन गर्ने ‘सन्चो तेल’ विगत १५ वर्षदेखि स्विडेनमा निर्यात हुँदै आइरहेको छ । तर, स्विडेनमा प्याकेजिङ सन्चो भने पठाइँदैन । यसमा प्रयोग हुने कच्चा पदार्थ मात्र पठाउने गरिएको यादवले बताइन् । सन्चो तेल प्रत्येक वर्ष सरदर ५० केजी विदेश निर्यात भइरहेको यादवले बताइन् ।

जडीबुटीको सिंगो व्यवसाय धानिरहेको सन्चो

सन्चो पुदिना, युकालिप्टस (मसला), कपुर, धसिंग्रे, तुलसी, टिमुर र लेमनग्रासको सुगन्धित तेल मिश्रण गरेर बनाइन्छ । प्राकृतिक जडिबुटीहरूको सम्मिश्रणका कारण सन्चो विभिन्न स्वास्थ्य समस्याको अचूक समाधान बनेको हो ।

सन्चोको प्रयोग रुघाखोकी, जोर्नी दुखेको, नाक बन्द भएको, थकान, जिउ दुखेको, मांसपेसी दुखेको, टाउको दुखेको, मर्केको ठाउँ र सामान्य चिलाइका लागि गर्न सकिन्छ ।

कसले प्रयोग गर्न मिल्दैन

सन्चोका धेरै फाइदाहरू छन् । तर, सन्चो २ वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलाले प्रयोग गर्नुहुँदैन । आँखा, कान, गुप्तांगमा पनि प्रयोग गर्न मिल्दैन ।

सन्चो नवजात शिशुहरूका लागि निषेधित छ । उत्पादन मितिले ३ वर्षसम्म सञ्चो प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।