नेपाल राष्ट्र बैंकका अनुसार देशको आर्थिक अवस्था सुधारोन्मुख छ । निर्यातका साथै विदेशी मुलुकबाट भित्रिने रेमिट्यान्स पनि केही प्रतिशत बढेको छ । जसले गर्दा अर्थतन्त्र सुधारिँदै गएको चर्चा गर्न थालिएकोे छ । तर, साँच्चिकै अर्थतन्त्र लयमा फर्किएकै हो त ? हामीले अर्थविद् डिल्लीराज खनाललाई ३ प्रश्नबाट जान्ने कोसिस गरेका छौँ ।
राष्ट्र बैंकको तथ्यांक हेर्दा देशको अर्थतन्त्र लयमा फर्किँदै गरेको भनेर कतिपयले चर्चा गरिरहेका छन्, सूचकहरू सकारात्मक भएकै हुन् ?
केही राम्रो संकेत देखिएको छ । बाह्य क्षेत्रमा रेमिट्यान्स वृद्धि भइरहेको छ । पछिल्लो समय रेमिट्यान्सले रेकर्ड नै बनाएको अवस्था छ । त्यो एउटा सकारात्मक पक्ष हो ।
यसैगरी, केही समयदेखि निर्यात नकारात्मक भइरहेको अवस्था थियो । अहिले आएर निर्यात र आयात दुवै बढेको छ । त्यसको प्रत्यक्ष र परोक्ष असर परिरहेको छ । सुस्त रहेको आर्थिक क्रियाकलाप बढेको छ ।
निर्यातमा जुन किसिमको वृद्धि भएको छ । त्यसले पनि निर्यातमूलक उद्योगलाई राहत मिलेको छ । उनीहरू उत्पादन बढाउनेमा फोकस देखिएका छन् ।
यस्तै, मूल्यवृद्धिमा पनि केही कमी आएको स्थिति छ । तर, अझै पनि आन्तरिक अर्थतन्त्रको आन्तरिक प्रवृत्ति र अवस्था कमजोर नै देखिरहेका छौँ । त्यसले ढुक्क भएर अर्थतन्त्र पूरै सुधार भएको छ भन्ने अवस्थाचाँहि देखिँदैन ।
खासगरी बैंकमा अहिले पनि तरलता उच्च छ । लगानी माग भइरहेको छैन । थुप्रै उद्योग व्यवसाय बन्द भइसकेका छन् । भएका उद्योगले पनि आफ्नो क्षमताअनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।
सरकारले निजी क्षेत्रबाट पनि प्रोत्साहित गर्ने र आफ्ना कार्यक्रम र परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्ने, निर्माण क्षेत्रलाई गति पैदा गर्ने हो भने विकास निर्माणको काम अघि बढ्ने कुरा हुन्थ्यो ।
तर, अहिले पनि बजेट खर्च चुस्त र प्रभावकारी बनाउनेतिर सरकारले अनुकूलता थपेको देखिँदैन । अर्थात् मौद्रिक नीतिसँगै वित्त नीति र प्रक्रियामा पनि थुप्रै समस्या छन् । त्यसैले आन्तरिक अर्थतन्त्रलाई उकास्ने, त्यसलाई गति दिने र दिगो तरिकाले अगाडि बढ्नेतिर अनुकूलता देखिएको छैन ।
अहिले पनि रोजगारीको सिलसिलामा विदेश जानेहरू बढ्दै गएका छन् । त्यसैले आम रूपमा अर्थतन्त्र सुधारोन्मुख छ भन्न मिल्दैन ।
रेमिट्यान्स बढ्यो भनेर मख्ख पर्ने कि बेरोजगारी थपियो भनेर दुखी हुने ?
त्यो भनेको पूर्वसर्त हो । रेमिट्यान्स बढ्नेबित्तिकै विदेशी मुद्रा सञ्चिति थपिँदै जाने भयो । विदेशी विनिमय सञ्चिति संकट हुने हो कि भनेर डर नहुने भयो ।
बैंकिङ क्षेत्रमा जुन किसिमले पैसा सञ्चित भएको छ, त्यसले पनि बैंकहरूको क्षमता बढाउँछ । गरिबी निवारण होस् वा जनताको जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य इत्यादिमा सबैभन्दा मुख्य भूमिका रेमिट्यान्सले नै खेलेको छ । भर्खरै विश्व बैंकको रिपोर्टले पनि त्यो कुरा देखाएको छ ।
रेमिट्यान्स हाम्रो अर्थतन्त्रलाई अगाडि बढाउन, हाम्रो जीवनस्तर उकास्न एउटा पूर्वसर्त हो । तर, त्यो रेमिट्यान्स आएर बैंकमा थुप्रिनेबित्तिकै त्यसले हाम्रो अर्थतन्त्रलाई अघि बढाउँछ भन्ने कुरा देखिँदैन । थुप्रिएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट एउटा नयाँ ढंगले अर्थतन्त्रलाई समृद्धिको बाटोमा हिँडाउनेतर्फ उपयोग गर्न सकिएको छैन भन्ने कुरा देखाएको छ ।
रेमिट्यान्सकै कारण विदेशी विनिमय सञ्चिति थुप्रिएको छ, यसले के संकेत गर्छ ? अनि अर्थतन्त्रमा व्यापक सुधारका लागि के गर्नु आवश्यक छ ?
विदेशी विनिमय सञ्चिति पर्याप्त भएन भने हामी चल्नसमेत सक्दैनौँ । विदेशीले पनि हामीलाई पत्याउँदैनन् । त्यसैले विदेशी विनिमय सञ्चिति जम्मा हुनु भनेको राम्रो हो । तर, त्यो आफैँमा सम्पूर्ण भने होइन ।
हामी अब नयाँ ढंगले अघि बढ्नुपर्छ । आत्मनिर्भर बन्नुपर्छ । गहुँ उत्पादन हुँदैन भने गहुँ किन्ने, धान उत्पादन हुन्छ भने धान निर्यात गर्ने गरी अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ । सरकारले बजेटरी सिस्टमबाट उत्पादनशील क्षेत्रमा लगानी गर्ने, सँगै बैकिङ क्षेत्रबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा गर्नु आवश्यक छ । यस्तै, अहिले आइटीमा फोकस गर्नु सबैभन्दा उत्तम छ ।
अहिलेको समष्टिगत आर्थिक नीति छ, त्यसलाई नयाँ ढंगले लैजानु पनि आवश्यक छ । परनिर्भरता कम गर्न राजस्व उठाउने कामलाई बढावा दिनुपर्छ ।
सरकारले र निजी क्षेत्र दुवैले गर्ने लगानी नयाँ ढंगको अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ लैजाने किसिमको हुनुपर्छ । त्यो क्रममा जोखिममा रहेका वर्ग समुदाय छन्, तिनीहरूलाई फोकस गर्नुपर्यो ।
हाम्रा हरेक नीति तथा कार्यक्रम प्रदेश र स्थानीय तहसम्म आम रूपमा रोजगारीलाई केन्द्रमा राखेर चुस्त दुरुस्त र परिणाममुखी बनाउन नयाँ ढंगले अघि बढाउनुपर्छ । यसका लागि सरकार र निजी क्षेत्र ठोस र साहसिक रूपमा अघि बढ्नुपर्छ ।
प्रतिक्रिया