संस्थागत सुशासनले थलिने अवस्थामा पुगेको मातृभूमी लघुवित्तलाई सुधार गर्ने महत्वकांक्षी योजना सहित विनोद आचार्य अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न लघुवित्तको छैठौं साधारण सभामा सर्वसाधारणतर्फबाट सञ्चालकमा निर्बिरोध निर्वाचित भएका आचार्य बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकबाट अध्यक्षमा निर्वाचित भएका हुन् । सञ्चालक समिति बैंठकमा संस्थापकतर्फका सञ्चालक शम्भु घिमिरेले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेपनि अधिकांश सञ्चालकहरुले आचार्यको पक्ष लिएपछि उनी अध्यक्ष बनेका हुन् ।
अध्यक्ष निर्वाचित भएलगत्तै आचार्यले नेपाल राष्ट्र बैंक पुगेर आफ्नो पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्र बैंक, नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले सपथ खुवाएका हुन् ।
सपथ ग्रहण गर्दै लघुवित्तका अध्यक्ष आचार्यले गिर्दो अवस्थामा रहेको लघुवित्तको अवस्थालाई सुधार गर्ने, लघुवित्तका शिद्दान्त र मान्यता अनुरुप लघुवित्त सेवालाई थप प्रभावकारी बनाउने, धेरै संस्था मर्ज हुँदा समायोजन हुन नसकेको अलग अलग संस्कारले उत्पन्न फरक मतलाई एकनासको बनाउने, लगानीकर्ताको लगानीलाई उचित न्याय दिलाउने किसिमले संस्थालाई अघि बढाउन सामुहिक पहल गर्ने प्रतिबद्दता जनाए । एकल निर्णयले कुनै पनि संस्था अघि बढ्न नसक्ने बताएका उनले सामुहिक पहलमा संस्थालाई थप गतिशील बनाउन सेयरधनी, कर्मचारी, व्यवस्थापन र सञ्चालकहरुको संयुक्त सहकार्यमा आफु अघि बढ्ने उनले बताए ।
तत्कालीन एनआरएन लघुवित्तमा मर्ज भएको किसान लघुवित्तको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका आचार्यले लामो समयसम्म तत्कालीन सिभिल क्यापिटल मार्केट्समा रहेर सेवा गरेका थिए भने पछिल्लो पटक तत्कालीन सेञ्चुरी क्यापिटलमा आबद्ध थिए । सेञ्चुरी क्यापिटल प्रभु क्यापिटलमा विलय भएपछि व्यवसायमा लागेका आचार्य लघुवित्तमा प्रवेश गरेका हुन् ।
मंगलबार सम्पन्न लघुवित्तको साधारण सभाले आचार्य सहित भरत हमाललाई सर्वसाधारणतर्फको सञ्चालकमा निर्बिरोध चयन गरेको थियो । संस्थापकतर्फ भने निर्वाचनबाट खडानन्द सापकोटा, इन्द्र कुमार शाह, शम्भु घिमिरे र बिमला योगी सञ्चालकमा निर्वाचित भएका थिए ।
यस अघिको सञ्चालक समितिले नियुक्त गरेका स्वतन्त्र सञ्चालक प्रद्युम्न भट्टराईको भने कार्यकाल बाँकी नै छ ।
लघुवित्तको साधारण सभाले मर्जरका कारण बढेको संस्थापक समुहको सेयर घटाएर ७० प्रतिशत कायम गर्नका लागि सर्वसाधारणमा थप नयाँ सेयर निष्काशन गर्ने, अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया