राजेन्द्र भण्डारीसँग ३ प्रश्न

वैदेशिक राेजगारीमा जानेमा किन बढ्दै छ आत्महत्या र हर्ट अट्याकको समस्या ?


काठमाडौँ । व्यक्तिगत तवरबाट होस् या संस्थागत, वैदेशिक रोजगारमा जानेको संख्या अचाक्ली बढेको छ । दैनिक २०० देखि २५०० जनासम्मले देश छाड्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

धेरै युवाको रोजाइ बाह्य गन्तव्य बनिरहँदा यसका समस्याहरूको भने चाङ लागेको छ । जसले गर्दा कामदार अलपत्र पर्ने, आत्महत्या गर्ने जस्ता समस्या बढिरहेका छन् । यसै विषयमा हामीले यस अंकको ३ प्रश्नमा वैदेशिक रोजगार संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीसँग कुरा गरेका छौँ ।

वैदेशिक रोजगारमा देखिएका समस्याहरू केके हुन् ?

वैदेशिक रोजगारमा बेथिति र विकृति हुनुको मुख्य कारण मागपत्र प्रमाणीकरण नहुनु नै हो । कतिपय देशमा मागपत्र प्रमाणीकरणमा हुने ढिलासुस्तीका कारण विकृति बढ्दै गएको हो ।

अर्को कुरा भनेको मान्छेहरू अहिले नयाँ गन्तव्य युरोप जान चाहन्छन् । तर, मागपत्र प्रमाणीकरण नभएका कारण व्यवसायीले पठाउन पाइँदैन ।

त्यसको फाइदा उठाउँदै बिचौलिया वा तस्करहरूले पठाइरहेका छन् । जुन गैरकानुनी हो । जसले गर्दा कामदारहरू असुरक्षित र सम्रग वैदेशिक प्रणाली नै भद्रगोल भएको छ ।

सबैजना गैरकानुनी तवरबाट गइरहेका छन् । बिचौलियाले भिसा ल्याइदिने, अनि व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएर जाने प्रवृत्ति बढिरहेको छ ।

अर्को समस्या भनेको सेवा शुल्क तोकिएको छैन । सरकारले सेवा शुल्क शून्य बनाएको छ । तर, कामदारहरू धेरै पैसा तिरेर जान बाध्य भएका छन् । बिल विजक छैन । त्यसैले गर्दा सेवा शुल्क तिर्नुपर्छ ।

बिल बिजक र सेवा शुल्क नहुँदा कामदार र व्यवसायी दुवै मारमा परेका छन् । समय सापेक्ष ऐन परिवर्तन गरेर कामदार पठाउने झन्झटिलो प्रक्रिया अन्त्य गरी कामदार छिटो पठाउन सकिए अझै सहज हुन्थ्यो ।

वैदेशिक रोजगारलाई सरकारले जति नै झन्झटिलो बनाए पनि विदेश जान चाहेको मान्छे जान्छ नै । त्यसैले त्यहाँ जानका लागि अहिलेको जुन हाम्रा ऐन कानुनहरू छन्, तिनलाई परिवर्तन गर्नुपर्छ । सरकारले सीधै कम्पनीसँग सम्झौता गरेर कामदार पठाउने व्यवस्था गर्ने हो भयो भने सहज हुन्छ ।

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका क्रममा ७४० जना नेपालीको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै हृदयघात र आत्महत्याका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १४६ छ । यस्ता घटना किन भएका होलान् ? यसलाई न्यूनीकरण गर्न के गर्नुपर्ला ?

मानिसहरूमा चेतनाको अभाव छ । विदेशमा मात्र होइन, पछिल्लो समय नेपालमा पनि आत्महत्याको संख्या बढेको पाइएको छ ।

विदेशमा यस्ता घटना हुनुको मुख्य कारण भनेको ‘डिप्रेसन’ नै हो । वैदेशिक रोजगारमा जाने कतिपय कामदार नेपालमै डिप्रेसनको सिकार भइरहेका हुन्छन् ।

अर्को भनेको उनीहरूको पारिवारिक कारण पनि हुन्छ । पारिवारिक तनावका कारण पनि कतिपयले विदेशमा आत्महत्या गर्ने वा हृदयघात हुने गरेको पाइएको छ ।

सीप नसिकी विदेश जाँदा पनि काम नै नजानेका कारण उनीहरू अलपत्र पर्छन् । अनि आत्महत्या गर्न बाध्य भएका हुन्छन् । यस्तै, लागुऔषधमा फसेकालाई पनि विदेशमा समस्या पर्ने भएकाले उनीहरूले पनि ज्यान गुमाउने गरेका छन् ।

यसको नियन्त्रणका लागि विदेश जानुपूर्व वा गइसकेपछि मेन्टल हेल्थ काउन्सिलिङ गर्नु आवश्यक आवश्यक हुन्छ ।

कोही व्यक्ति विदेश जाँदै छन् भने उनीहरूलाई उनीहरूको कामका बारेमा पूर्वजानकारी दिनुपर्छ र सम्भव भएसम्म उता गएर गर्ने कामको तालिम नै सञ्चालन गर्नुपर्छ ।

वैदेशिक रोजगारमा जाने कामदारलाई काम गर्ने तौरतरिकाबारेमा जानकारी दिन सकियो भने पनि आत्महत्याको जोखिम नियन्त्रण गर्न सकिन्छ ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समग्र समस्या नियन्त्रण गर्न के गर्नुपर्ला ?

कामदारले नै वैदेशिक राजगारका बारेमा पूर्ण रूपमा जानकारी लिएर मात्र बाहिर जाने गरे पनि यो समस्या आफैँ नियन्त्रणमा आउँछ ।

यस्तै, वैदशिक रोजगारमा गइसकेका व्यक्तिलाई ठुलठुला रोजगारदाताहरूले बेलाबेला सचेतना कार्यक्रम गर्ने, काउन्सिलिङ गर्ने गर्‍यो भने पनि बाहिरी मुलुकमा ज्यान गुमाउनेको संख्या घट्छ ।

समग्र वैदेशिक रोजगारलाई प्रभावकारी बनाउन ऐन नियम प्रष्ट बनाउनुपर्छ । कामदार छनोट प्रक्रियादेखि समग्र कुरामा ध्यान दिएर त्यसलाई सीपसँग जोड्न सकियो भने यस्ता समस्याहरूको अन्त्य गर्न सकिन्छ । त्यसैले त्यस्ता कुराहरूमा ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: ५ वैशाख २०८२, शुक्रबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।