भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग


मुस्ताङ । कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन् । करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उनले २ वर्षदखि स्याउका बिरुवा उत्पदान गरिरहेका छन् ।

साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्यूँताउने जमर्को गरेको हो । केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुन् । शाही १४ वर्षको कलिलो उमेरमा ९ कक्षा पढ्दापढ्दै परिवारबाट भागेर भारतको हिमाचल प्रदेशको सिम्ला पुगेका थिए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले धन कमाउन भारत पुगेका शाहीले भारतको सिम्लामा २५ वर्षसम्म भन्दा बढी स्याउ फर्ममा काम गरे ।

परिवारले हराएको लामो समयपछि नफर्किएपछि आशा मारेको अवस्थामा कोभिड–१९ (कोरोना भाइरस) ले विश्व आक्रान्त भएको बेला घर फर्किएर केही वर्ष स्याउ बारीमा काम गरेपछि करिब २ वर्षदेखि मुस्ताङको घाँसामा स्याउखेती गरिरहेको शाहीको भनाइ छ । समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा नर्सरी र स्याउखेती विस्तार गरेको बताउँदै उनले भारतमा काम सिक्ने र ज्यान पाल्नेबाहेक केही प्रगति नभएको उल्लेख गरे ।

अन्ततः स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा पुगेर केही उत्पादनमूलक काम गर्ने सोचका साथ स्याउको नर्सरी सुरु गरेको शाहीले जानकारी दिए । सुरुवातका वर्षमा उनले स्याउ नर्सरीबाट ५ हजार बिरुवा बेचेको बताए ।

भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउखेती र नर्सरीका लागि जिल्लाका विभिन्न पालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, स्थानीय र किसानसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक तालिम दिएको शाहीको भनाइ छ । २ वर्षअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले सञ्चालन गरेको ६ महिने तालिममा किसानलाई उन्नत तथा स्थानीय जातका स्याउखेतीसम्बन्धी तालिम दिएको उनले अनुभव सुनाए ।

हाल शाहीले आफ्नो फार्ममा रेड डेलिसियस, रोयल डेलिसियस, रिचा रेड डेलिसियस र गोल्डेन डेलिसियसका साथै इटिलियन गाला, फुजी, किङ्रड प्रजातिका प्रतिबिरुवा ३०० देखि ९०० सम्ममा बिक्री गरिरहेको जानकारी दिए । फार्ममा लगाएको ३०० बोट उत्पादन दिन तयार भएका उनले बताए ।

‘छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसा क्षेत्रमा स्याउ फल्नेमा धेरैले आशा मारिसकेको अवस्था थियो । २ वर्ष अघि नर्सरीको सुरुवात गर्दा स्थानीय र सरोकार भएकाले नकारात्मक प्रतिक्रिया दिँदा दुःख लाग्थ्यो,’ उनले भने, ‘अहिले बिरुबा लिन मुस्ताङ भित्र र बाहिरी जिल्लाबाट पनि फार्ममा किसान आउछन् ।’

शाहीका अनुसार अबको ५ वर्षभित्र घाँसामा पाँच गुणा स्याउका बिरुबा उत्पादन गर्ने, स्थानीयलाई आवश्यक सीप प्रदान गर्ने, मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बगैँचामा घुमाउनुका साथै बगैंँचाबाटै पाकेका स्याउ बिक्री गर्ने लक्ष्य छ । शितोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका अनुसार यहाँ समुद्री सतहको १ हजार ९०० मिटरदेखि ३ हजार ६०० मिटर सम्मको उचाइमा स्याउ उत्पादन हुन्छ ।

प्रकाशित मिति: ५ वैशाख २०८२, शुक्रबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।