पकेटमै रकेट : रेडमी ए५ नेपाली बजारमा सार्वजनिक, मूल्य ११ हजार देखि सुरु


काठमाडौं । स्मार्टफोनको दुनियाँमा नयाँ क्रान्ति ल्याउने उद्देश्यसहित शाओमी नेपालले आफ्नो बजेट सेग्मेन्टको नयाँ स्मार्टफोन रेडमी ए ५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन, दमदार क्यामेरा, लामो ब्याट्री ब्याकअप विशेषतासहित यो स्मार्टफोन ‘खुसीको ग्यारेन्टी, २ वर्ष वारेन्टी’ ट्यागलाइनका साथ शाओमी नेपालले नेपाली बजारमा सार्वजनिक गरेको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भन्छन्, “नेपालमा रेडमी ए ५ प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ । अत्याधुनिक सुविधा भएको रेडमी ए ५ सबैको पहुँचमा पुगोस् र दैनिक जीवनका आवश्यकता पूरा गर्न सहज होस् भनी यो फोन लञ्च गरिएको हो ।”

कस्ता छन् विशेषता ?

रेडमी ए ५ मा ३२ मेगापिक्सेलको डुअल एआई क्यामेरा सिस्टम र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । रातको समयमा समेत अनुहार उज्यालो देखाउने ‘फिल लाइट’ सहितको सेल्फी अनुभवले सेल्फी प्रेमीलाई लोभ्याउनेछ । साथै नयाँ वाटरमार्क फिचरले फोटोमा व्यक्तिगत स्पर्श थप्नेछ ।

यस्तै ६.८८ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, आधुनिक फ्ल्याट फ्रेम र ८.२६ मिमी पातलो बनावटले रेडमी ए५ लाई थप आकर्षक बनाएको छ । यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड, र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध छ । साथै यस फोनको तौल १९३ ग्राम मात्रै रहेको छ ।

फोनमा रहेको ५२०० एमएएच ब्याट्रीले १.४५ दिनको प्रयोग समय दिन्छ भने १५ वाट फास्ट चार्जिङ सपोर्टले छोटो समयमा चार्ज हुन्छ । युनिसोक टी७२५० ओक्टा–कोर प्रोसेसर र ८ जीबीसम्मको डायनामिक मेमोरी विस्तारका साथ फोनले एन्टुटु बेन्चमार्कमा २ लाख ६० हजारभन्दा बढी स्कोर हासिल गरेको छ ।

शाओमीको सशक्त परीक्षणमा उत्तीर्ण रेडमी ए५ एन्ड्रोइड १५ गो एडिसनमा आधारित छ ।

फोन ३ + ६४ जीबी भेरिएन्टमा १० हजार ९९९ रुपैयाँमा र ४ + १२८ जीबी भेरिएन्टमा ११ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । सम्पूर्ण रेड्मीका स्टोरहरू र अधिकृत खुद्रा विक्रेतामार्फत नेपालभर बिक्री सुरु भइसकेको छ ।

 

प्रकाशित मिति: ५ वैशाख २०८२, शुक्रबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।