नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताए ।
“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत १९ करोड १२ लाख ३६ हजार ८२० रुपैयाँ , सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत चार करोड नौ लाख ५४ हजार ६५५ रुपैयाँ , यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा २३ लाख ५८ हजार ४६० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व सङ्कलन भएको छ”, उनले भने ।
यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैतमा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताए । यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको जाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावका रूपमा चैतमा मात्र चार करोड ८० लाख २५ हजार ६२५ रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।
“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्तदुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो, सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो”, उनले भने, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।”
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको उनले जनकारी दिए ।
“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, उनले भने,“कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।” गत आव २०८०÷८१ मा यातायात व्यवस्था कार्यालयले ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ सङ्कलन गरेको थियो ।
प्रतिक्रिया